काठमाडौं
बागमती सफाइ महाअभियानबाट प्रेरित भई ‘फोहरको श्रोतबाटै न्युनिकरण गर्न सके खोलानाला सम्म फोहर पुग्दैन’ भन्ने उद्देश्यका साथ २०७४ साल बैशाख २ गतेबाट सुरु गरिएको चक्रपथ सरसफाई महाअभियानको ४०२ हप्ताको नियमित सफाई कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी, विभिन्न संघसंस्था, रोटरी क्लब अफ काठमाडौं डाउनटाउन, यती हेल्थ साइन्स एकेडेमी, तथा स्वतन्त्र सफाई अभियन्ताहरुको सहभागितामा आजको सरसफाई कार्यक्रम सम्पन्न भएको हो। नेप्सेम्याक सेवा प्रा.लि.का सफाई कर्मचारी र ग्रिनसिटी हस्पिटलका कर्मचारीहरु पनि कार्यक्रममा सहभागी थिए।
संचारकर्मीसँग कुरा गर्दै चक्रपथ सरसफाई महाअभियानका संयोजक लोकबहादुर टण्डनले सामूहिक प्रयासबाट मात्र स्वच्छ समाज निर्माण गर्न सकिने बताए। सकृय अभियन्ता जितबहादुर हमालले यो अभियानले फोहर संकलन र व्यवस्थापन गर्नुका साथै स्थानीय नागरिकलाई सचेत गराउने कामसमेत गरिरहेको बताए।
उनले अब फोहर टिपेर मात्र बस्ने नभई सम्बन्धित घरधनी र व्यवसायीहरुलाई आफ्ना कार्यस्थल सफा राख्न सचेत गराउने तथा फोहर व्यवस्थापन गरिरहेका कम्पनी वा संस्थाहरुलाई उत्तरदायी बनाउने तर्फ अभियान केन्द्रित हुने जानकारी दिए।
यसैक्रममा, अभियानको ४०० औं हप्तामा गरिएको रक्तदान कार्यक्रमबाट संकलित रु १५,१०० रकमलाई ग्रीनसिटी हस्पिटलको गाई–बाच्छा संरक्षणको लागि राखिएको दान बाकसमा आज हस्तान्तरण गरिएको थियो। यस अभियानको व्यवस्थापन ग्रीनसिटी हस्पिटलले गरिरहेको छ। हस्पिटलले मास्क, पञ्जा, पोलेथिन जस्ता आवश्यक सामग्रीहरु उपलब्ध गराउँदै आएको छ।
अभियन्ताहरुले स्थानीय सरकार र संघसंस्थालाई अभियानमा जोड्न नसक्दा अभियान सोचेजति प्रभावकारी नभएको स्वीकार गरे। आगामी दिनहरुमा अभियानले फोहर टिप्ने मात्र नभई सरोकारवालाहरुलाई सचेत गराउँदै फोहर व्यवस्थापनको व्यवस्थित प्रक्रियामा लैजाने योजना बनाएको छ।
फोहर व्यवस्थापनको जिम्मेवारी लिएका कतिपय कम्पनी र संस्थाको चरम लापरवाही देखिएको भन्दै अभियन्ताहरुले सम्बन्धित स्थानका स्थानीय सरकार र वातावरण विभागमा उजुरी हाल्ने निर्णय गरेका छन्। पर्यावरण प्रदूषण गर्ने जोकोहीलाई राज्यको कानुन बमोजिम कारबाही गर्नुपर्ने उनीहरुको माग छ।