काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेलमा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ । खेल टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
कर्णालीका रित गौतम पहिलो रोजाइँमा खेल्दैछन् । ६ खेलमा बेन्चमा बसेका रितले एनपीएलमा पहिलो पटक पहिलो रोजाइँमा मौका पाएका हुन् ।
लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफायर र एलिमिनेटरको समीकरण तय हुने खेल भएकोले अन्तिम खेल भएपनि यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।
यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यस्तै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।
अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । तर शीर्ष दुईमा कुन टिम हुनेछ तय भएको छैन । चितवनले पनि तेस्रो वा चौथोमा रहेर एलिमिनेटर नै खेल्ने लगभग तय छ ।
बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ ।
सुदूरपश्चिम ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि छ ।
यस्तै चितवन र कर्णालीसँगै काठमान्डु गुर्खाजको पनि समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।
अब कर्णाली याक्स र काठमान्डु गुर्खाजमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँछ । अहिलेको अवस्थामा कर्णाली प्लेअफका लागि दाबेदार छ र होडमा अघि छ । किनभने काठमान्डु भन्दा कर्णालीको नेटरनरेट राम्रो छ ।
कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ । जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ । यस्तै लक्ष्य पछ्याएमा अवस्था हेरेर १५/१६ ओभरमा पूरा गर्नुपर्नेछ ।
सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ । यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछन ।
सुदूरपश्चिम रोएल्स : विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, स्कट कुगेलेइन, नरेन साउद, हर्मीत सिंह, अविनाश बोहरा
कर्णाली याक्स : बाबर हायात, देव खनाल, चाडविक वाल्टन, रित गौतम, विलियम बोसिस्टो, जीशान मकसुद, गुल्शन झा, बिपिनप्रसाद शर्मा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव