काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली
काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली
    • बेल संचार

    • १ पुष २०८१, सोमबार

काठमाडौं।

काठमाडौंका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको हो ।

उनको पार्थिव शरीरमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि सानेपा पुगेर पीएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा कांग्रेसका नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, सृजना सिंह, ललितपुरका महानगरका मेयर चिरीबाबु महर्जनलगायत अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका छन् ।

त्यसअघि बिहान ११ बजेसम्म ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । पीएल सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको थियो ।

गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए ।

पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने उनी निकट स्रोतले जनाएको छ ।

पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।

साताकाे चर्चित
सम्बन्धित