काठमाडौं
लैंगिक हिंसा अन्त्यका लागि पुरुष सहभागिता रणनीति २०७५ को संशोधनसम्बन्धी छलफल काठमाडौँमा सम्पन्न भएको छ।
साथी संस्था तथा अन्य विभिन्न संघसंस्थाहरूको सहकार्यमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा यो रणनीतिको संशोधनका लागि सरोकारवालाहरूबीच गहन छलफल गरिएको हो।
लैंगिक हिंसा निवारणमा पुरुषहरूको पनि महत्त्वपूर्ण भूमिका रहने भएकाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सन् २००७ देखि नेपालमा ‘लैंगिक हिंसा निवारण पुरुष सञ्जाल’ गठन गरी विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।
हामी दाजुभाइ संस्थाका अध्यक्ष सञ्जोग ठकुरीले छलफलमा बोल्दै, पुरुष सहभागिता रणनीति २०७५ संघीय तहका लागि मात्र लक्षित गरिएकाले मुलुकमा संघीयता लागु भएपछि यसलाई संशोधन गरी ‘लैंगिक हिंसा अन्त्य सम्बन्धी संशोधित रणनीति २०८१’ ल्याउन अन्तिम चरणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
अध्यक्ष ठकुरीले लैंगिक हिंसाविरुद्धको अभियानमा पुरुष मात्र नभई लैंगिक तथा यौनिक अल्पसंख्यकलाई पनि समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले समाजमा हिंसा अन्त्य गर्न सबैको समान सहभागिता जरुरी रहेको भन्दै सञ्जालमार्फत आफ्नो योगदान सुनिश्चित गर्न सबैलाई सहभागी हुन आह्वान गर्नुभयो।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तर्गत लैंगिक हिंसा महाशाखाका प्रमुख ममता विष्टले समाजमा लैंगिक हिंसा अन्त्य गर्न महिला र पुरुष दुवैको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले यो अभियानलाई अझ सशक्त बनाउन पुरुष सञ्जालमार्फत जिम्मेवारी बाँडफाँड गरिएकाले मन्त्रालयले सरोकारवालाहरूलाई सञ्जालमा आबद्ध हुन आग्रह गरेको जानकारी दिनुभयो।