काठमाडौं ।
सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
बिहीबार सम्पन्न क्वालिफायर-२ मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले सुदूरपश्चिमसँगको फाइनल भिडन्त सुनिश्चित गर्यो। यसअघि, बुधबारको क्वालिफायर-१ मा सुदूरपश्चिमले जनकपुरलाई हराउँदै पहिलो फाइनलिस्ट बनेको थियो।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी दुई टोलीले आफ्नो प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दिएका छन्। लिग र प्लेअफमा दुवै पटक सुदूरपश्चिमले जनकपुरलाई पराजित गरिसकेको छ। अब तेस्रो पटकको भिडन्तमा सुदूरपश्चिमको दबदबा कायम रहनेछ कि जनकपुरले बदला लिनेछ, त्यसका लागि शनिबारको फाइनल कुर्नुपर्नेछ।
लिग चरणको प्रदर्शन
सुदूरपश्चिमले लिग चरणमा खेलेको ७ मध्ये ६ खेलमा जीत हात पारेको थियो। चितवन राइनोजविरुद्ध मात्र पराजित भएको सुदूरपश्चिमले प्लेअफमा लय कायम राख्दै क्वालिफायर-१ मा जित हासिल गर्यो।
जनकपुरले भने लिग चरणमा ७ मध्ये ५ खेल जितेको थियो। चितवन र सुदूरपश्चिमसँग पराजित भएको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो। क्वालिफायर-१ मा हार व्यहोरे पनि क्वालिफायर-२ मा कर्णाली याक्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
जनकपुरको रोमाञ्चक जीत
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरका लागि जिमी नीशम नायक सावित भए, जसले १७ बलमा ४५ रन बनाए। कर्णालीका युवा स्पिनर विपिन प्रसाद शर्माले ३ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन्।
फाइनलको प्रतिक्षा
शनिबार हुने फाइनल खेललाई रोमाञ्चक मानिएको छ। सुदूरपश्चिमले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिन खोज्नेछ भने जनकपुरले फाइनलमा जित निकाल्दै बदला लिने लक्ष्य राखेको छ। उपाधि विजेताको टुंगो अब केवल फाइनलमै लाग्नेछ।
फाइनल खेल शनिबार हुनेछ।