काठमाडौँ
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपालमा हाल भइरहेको विद्युत कटौतीलाई लिएर प्रधानमन्त्रीको फोटो राखी भारतसँगको सम्बन्धलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता चिरञ्जीवी चटौतले आज एक विज्ञप्ती जारी गरी उर्जा मन्त्रालयको उच्च स्रोत तथा कर्मचारीको हवाला दिँदै प्रधानमन्त्रीको फोटो राखेर सरकारप्रति भारतको नकारात्मक सम्बन्धका कारण भन्दै राजनीतिसँग जोडेर भारतले पिक आवरमा विद्युत सप्लाई नदिएको भन्दै विजमाण्डू अनलाईनमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
“नेपाल–भारतबीचको युगौँ पुरानो मित्रवत सम्बन्धलाई खलल पार्ने प्रायोजित योजना अनुरुप प्रकाशित यस्ता खालका समाचार भ्रामक, असत्य र कपोलकल्पित एवम् छिमेकी देशप्रति पूर्वाग्रह राखी प्रकाशित समाचारको खण्डन एवम् भत्र्सना गर्दछौँ,”– विज्ञप्तीमा भनिएको छ ।
सुख्खा याममा नेपालका जलविद्युत आयोजनाको विद्युत उत्पादन घट्न गई भारतबाट विद्युत आयात गरी यहाँको विद्युत माग–आपूर्तिको सन्तुलन मिलाइँदै आएको मन्त्रालयले जनाएको छ । भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत भारतको आफ्नै विद्युत माग बढी भएका कारण पिक आवरमा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित दुई पक्षीय सम्झौता (पिपिए) मार्फत बा बिड आव्हान मार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसि) अन्तर्गत विद्युत आयातका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक पहल गर्न सक्ने र त्यसरी विद्युत आयात गर्न भारत सरकारले कुनै रोक नलगाएको यथार्थ तथ्य रहेको मन्त्रालयले बताएको छ ।