न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था: प्रधानन्यायाधीश राउत
न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था: प्रधानन्यायाधीश राउत
    • बेल संचार

    • ५ पुष २०८१, शुक्रबार

काठमाडौं ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका दुई महत्त्वपूर्ण संस्था भएको बताएका छन्। उनले यी संस्थाहरूको आचारसंहिता उल्लंघन नगर्न र जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।

न्यायाधीश समाज नेपालले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रियामा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायालय र मिडिया विश्वसनीयता र जनविश्वासका आधारमा टिक्ने उल्लेख गरे।

“मिडिया र न्यायालय दुवै विश्वसनीयता र काममा निर्भर हुन्छन्,” प्रधानन्यायाधीशले भने। न्यायपालिकाको आदेश र फैसलामा टीकाटिप्पणी गर्दा स्वच्छता र वस्तुनिष्ठता कायम गर्नुपर्ने उनले बताए।

प्रधानन्यायाधीश राउतले न्यायपालिकालाई पारदर्शी र कानूनी प्रक्रियामा आधारित संस्थाका रूपमा चित्रण गर्दै भने, “अहिलेको न्यायपालिका पूर्ण रूपमा पारदर्शी छ। कसैले यसलाई अपारदर्शी भनेमा मेरो गम्भीर आपत्ति छ। हामी निष्पक्ष न्याय दिन पूर्ण प्रतिबद्ध छौं।”

उनले न्यायालय सुधारका लागि आफू नियमित रूपमा क्रियाशील रहेको र सबै सरोकारवालाहरूलाई यस अभियानमा साथ दिन आग्रह गरे।कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाजका अध्यक्ष तिलप्रसाद श्रेष्ठले ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरे। उनले अदालतप्रतिको निष्ठा र विश्वास बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा सहभागी न्यायाधीश र पत्रकारहरूले न्यायालयले सहजरूपमा सूचना उपलब्ध गराए जनआस्था वृद्धि हुने धारणा राखे। आचारसंहिताको पालनाले न्यायपालिका र सञ्चारमाध्यमबीचको सम्बन्धलाई अझै बलियो बनाउन मद्दत गर्ने सुझावसमेत दिए।

न्यायालय र सञ्चारमाध्यमले संविधानले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनविश्वास कायम गर्नुपर्नेमा प्रधानन्यायाधीश राउतले जोड दिएका छन्। आचारसंहिताको पालना र पारदर्शिता यी संस्थाहरूको दीर्घकालीन विश्वासको आधार हुने स्पष्ट छ।

साताकाे चर्चित
सम्बन्धित