रसुवा ।
केरूङमा चिनियाँ सामग्री आयातका लागि मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्दै गएको छ। सीमासुरक्षाकर्मीका अनुसार, दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरूङ जाने गरेको छ। यस्ता कन्टेनरहरूमा स्याउ, लसुन, अदुवा, स्याउपाती, ओखर, चप्पल, तयारी पोशाक, विद्युतीय सामान, जलविद्युत् आयोजना उपकरण, खेलौना, र अन्य विविध सामग्रीहरू आयात भइरहेको छ। रसुवा भन्सार कार्यालयका अनुसार, यस्ता सामग्री बोकेर दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेका छन्।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार, सवारीसाधनको आयातमा सबैभन्दा बढी ईभी (इलेक्ट्रिक भेहिकल) आयात हुँदै आएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएका छन्। यसले राजस्व आर्जनमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ। भन्सार कार्यालयका अनुसार, चालु आव २०८१/८२ को प्रथम चौमासिकअन्तर्गत करिब १२ अर्ब रुपैयाँ भन्दा बढी राजस्व आर्जन भएको छ।
रसुवागढी नाकाबाट अन्यन्तै न्यून मालसामग्री निर्यात हुने गरेको छ। निर्याततर्फ, ऊनीगलैँचा, बक्रम कपडा, तयारी कपडा, चाउचाउ, नुडल्स, जडीबुटी, अगरबत्ती, भाँडामा झर्ने स्टिलउड र काठका सामग्री निर्यात भइरहेका छन्। आयातका साथसाथै गैरकानुनी गतिविधिहरू पनि बढ्दै गएकोले, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी मितेरी पुलमा २४ सै घण्टा पहरा दिइरहेका छन्।
विसं २०७२ देखि पूर्ण रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा सडकको मर्मत नहुनुका कारण मालवाहक सवारीसाधनका चालकहरूलाई असहज समस्याहरू आउने गरेको छ। चालकहरूका अनुसार, स्याफ्रुबेँसी–रसुवागढी खण्डमा वर्षायाममा होचो अग्लो भएका स्थानहरूलाई सुधार गर्ने र रोलारको प्रयोगले सवारी सञ्चालनलाई सहज बनाउन सकिन्छ। यद्यपि, सडक सुधारका लागि थोरै खर्चमा धेरै काम गर्न सकिने सुझाव पनि प्रस्तुत गरिएको छ। स्थानीयहरूले सडक सुधारका लागि अधिकारीहरूको न्यून उपस्थिति बारे पनि चिन्ता व्यक्त गरेका छन्।