नयाँ दिल्ली, भारत ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालमा लगानीका अवसरहरू विस्तार गर्न भारतीय निजी क्षेत्र र व्यवसायीलाई आह्वान गरेकी छन् ।
नयाँ दिल्लीमा आयोजित नेपाल-भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै उनले सडक, रेलमार्ग, जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि, र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता क्षेत्रमा लगानीका सुनौलो अवसरहरू रहेको उल्लेख गरिन्।
परराष्ट्रमन्त्री राणाले नेपाल र भारतबीचको ऐतिहासिक आर्थिक साझेदारीको प्रशंसा गर्दै भनिन्, “भारत नेपालमा मुख्य वैदेशिक लगानीकर्तामध्ये एक हो। हामी भारतीय निजी क्षेत्रका उद्यमीहरूलाई नेपालको लगानीमैत्री वातावरणको फाइदा उठाउन प्रोत्साहन गर्न चाहन्छौं।”
उनले नेपालका कृषि, सूचना प्रविधि, र खेलकुदजस्ता क्षेत्रमा उच्च प्रतिफलको सम्भावना रहेको बताउँदै यी क्षेत्रहरूमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गरिन्।
राणाले नेपालले लुम्बिनी र पोखरामा निर्माण गरेका अन्तर्राष्ट्रिय विमानस्थलहरू पूर्ण रूपमा सञ्चालन गर्न भारतीय निजी क्षेत्र र हवाई सेवा प्रदायकको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
उनले नेपाल र भारतबीचको डिजिटल ट्रान्जेक्सनमा भएको प्रगतिको सराहना गर्दै दुवै देशका पर्यटक, तीर्थयात्री, व्यवसायीहरूलाई अझ सहज बनाउन डिजिटल र होटल नेटवर्क विस्तारको आवश्यकता रहेको बताइन्।
परराष्ट्रमन्त्रीले नेपालले ऐतिहासिक राजनीतिक रूपान्तरण गर्दै शान्ति र लोकतन्त्र संस्थागत गरिसकेको र अबको प्राथमिकता तीव्र सामाजिक तथा आर्थिक विकास रहेको बताइन्। “हाम्रो प्रमुख लक्ष्य शान्ति र समृद्धि सुनिश्चित गर्नु हो,” उनले भनिन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै उनले दुई देशबीचको सम्बन्ध कागजमा मात्र नभएर दिलको भएको बताइन्।
सम्मेलनमा भारतीय नीति आयोगका सदस्य अरविन्द भिरमानी, फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयरका सीईओ डा. चरण सिंह, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले, र पूर्वनेपाली राजदूत डा. लोकराज बराललगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ।
नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन आयोजित यो सम्मेलन दुई देशका लागि मात्र नभई सम्पूर्ण क्षेत्रीय विकासको लागि महत्त्वपूर्ण कदम हो।