काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको हल्ला निराधार भएको दाबी गर्दै यसले लोडसेडिङबाट फाइदा उठाउने समूहको संलग्नता रहेको बताएका छन्।
नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै उनले केही प्राविधिक कारणले पिक समयमा लोड व्यवस्थापन गर्नु परेको स्वीकारे। “अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेका र कालीगण्डकी परियोजना नियमित मर्मतमा रहेको कारणले अस्थायी रूपमा पिक समयमा केही घण्टा लोड व्यवस्थापन गरिएको हो,” उनले भने।
घिसिङले अहिलेको समस्या लोडसेडिङ नभई लोड व्यवस्थापनको अल्पकालीन चुनौती भएको बताए। उनका अनुसार आगामी १० दिनभित्र अपर तामाकोशी पुनः सञ्चालनमा आउनेछ भने कालीगण्डकी पनि छिट्टै कार्यरत हुनेछ।
उनले उद्योगहरुलाई पिक समयमा २/३ घण्टा बिजुली नचलाइदिन आग्रह गरिएको जानकारी दिए। “यसले दैनिक १६/१७ घण्टा भन्दा बढी चल्ने उद्योगलाई खासै असर गर्दैन,” घिसिङले भने।
घिसिङले लोड व्यवस्थापनको कारण देखाएर सिमेन्टको मूल्य प्रति बोरा रु १०० ले बढाइनु गलत भएको बताउँदै यसबारे उद्योगीहरुलाई प्रश्नसमेत गरे। “लोडसेडिङको समय डिजेलबाट उद्योग नचलाउने उद्योगीहरुले अहिले यसको फाइदा उठाउन खोज्दै छन्,” उनले भने।
घिसिङले वर्तमान सरकारले ठूला आयोजना सञ्चालन गर्नका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकेको उल्लेख गर्दै, अब आयोजना प्राथमिकता तय गर्नुपर्नेमा जोड दिए। “बजेट अभावकै कारण जारी आयोजना भुक्तानीमा समेत समस्या रहेको छ,” उनले भने।
नेपाल विद्युत् प्राधिकरणले आगामी दिनमा यस्ता समस्या समाधान गर्न दीर्घकालीन योजना ल्याउनुपर्ने घिसिङको धारणा छ। “लोडसेडिङ फर्काउने कुनै सम्भावना छैन। यो व्यवस्थापनको अस्थायी चुनौती हो, जसलाई छिट्टै समाधान गर्नेछौं,” उनले जोड दिए।