पाँच महिनामा बाह्रवटा गैँडा र एक बाघ मृत फेला, संरक्षण चुनौती थपियो
पाँच महिनामा बाह्रवटा गैँडा र एक बाघ मृत फेला, संरक्षण चुनौती थपियो
    • बेल संचार

    • ६ पुष २०८१, शनिबार

चितवन ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका मध्यवर्ती क्षेत्रमा १२ वटा गैँडा र एक बाघ मृतावस्थामा फेला परेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत गैँडामध्ये चार भाले, पाँच पोथी, र तीनवटा पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्।

तीमध्ये एक गैँडालाई विद्युतीय करेन्ट लगाएर मारेको पुष्टि भएको छ।

गत मंसिर १६ गते, अमलटारी सेक्टरअन्तर्गत नन्दपुर घाटमा बाघसँग जुधेर अन्दाजी ६ वर्षको बाघ मृतावस्थामा फेला परेको थापामगरले जानकारी दिए।

यस अवधिमा गैँडाको आक्रमणबाट दुई व्यक्तिको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृतकहरू नवलपुर बर्दघाट सुस्तापूर्वका बासिन्दा रहेको पुष्टि भएको छ।

अवैध गतिविधि नियन्त्रणमा सक्रियता
निकुञ्जले अवैध गतिविधि रोक्न सक्रिय भूमिका निभाउँदै पाँच महिनाको अवधिमा १५० जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरू गैँडा मारेर खाग तस्करी, बाघसम्बन्धी कसुर, अवैध रूपमा बँदेल पाल्ने, घाँस–दाउरा काट्ने, माछा मार्ने, र निउरो टिप्ने जस्ता गतिविधिमा संलग्न रहेको जनाइएको छ।

अवैध गतिविधिहरूको नियन्त्रणसँगै संरक्षणका चुनौती पनि बढेका छन्। निकुञ्जका अधिकारीहरूले गैँडा र बाघ संरक्षणमा थप प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

चितवन राष्ट्रिय निकुञ्ज गैँडा संरक्षणका लागि विश्व प्रसिद्ध क्षेत्र हो। तर, पछिल्ला घटना क्रमले संरक्षणका लागि थप रणनीतिक प्रयास आवश्यक भएको देखाएको छ।

साताकाे चर्चित
सम्बन्धित