नेपालमा अलैँची खेतीको सम्भावना : गिरीराज खनालको सफलताका कथा
नेपालमा अलैँची खेतीको सम्भावना : गिरीराज खनालको सफलताका कथा
    • बेल संचार

    • ७ पुष २०८१, आईतवार

इलाम ।

नेपालमा केही गर्न सकिँदैन, राज्यले केही गरेन भन्ने धारणा धेरैको छ। तर, आफ्नै मेहनतले वार्षिक लाखौँ रुपैयाँ कमाउनेहरू पनि नेपालमा धेरै छन्। पछिल्लो समय कृषि पेशा छाड्नेहरूको संख्या बढ्दै गएको छ। तर, गाउँमै बसेर कृषि पेशाबाटै मनग्य आम्दानी गर्ने किसानहरू पनि प्रशस्तै छन्।

इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल यस्ता उदाहरणीय किसानमध्ये एक हुन्। कृषि पेशाबाटै स्वदेशमै बसेर विदेशभन्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण खनालले प्रस्तुत गरेका छन्। उनले यसै वर्ष रु ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन्। गिरीराज खनाल पूर्व वडाध्यक्षसमेत हुन्।

सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको अलैँची खेतीबाट ३० मन उत्पादन गरेका छन्। अहिले अलैँचीको मूल्य १२ वर्षयताकै उच्च भएको छ, प्रतिमन रु १ लाख १५ हजार। यो हिसाबले ३० मन अलैँचीको मूल्य रु ३४ लाख ५० हजार पुगेको छ। यो उनको एक वर्षको आम्दानी हो।

गाउँमा व्यापारीहरूले अलैँचीको आकर्षक मूल्य तोक्ने गरेका छन्। बजारमा प्रतिमन रु १ लाख १० हजारमा व्यापारीहरूले अलैँची खरिद गर्छन्। लामो समयदेखि अलैँची खेती गर्दै आएका खनालले यसलाई कहिल्यै छाडेनन्। बिचमा अलैँची मासिँदा पनि उनले खेतीलाई निरन्तरता दिए। खनालले विभिन्न स्थानका किसानहरूलाई अलैँचीको बिरुवा वितरणसमेत गरेका छन्।

अलैँची खेतीले धेरै मेहनत नगरी पनि राम्रो आम्दानी दिन्छ। सुरुमा बिरुवा लगाउन र खेत तयार पार्न खर्च लागे पनि उत्पादन सुरु भएपछि टिप्न र सुकाउन मात्र बढी खर्च लाग्ने खनाल बताउँछन्। बीचमा गोडमेल, मलजल र पानीको व्यवस्था गर्नुपर्छ, तर यसमा खासै धेरै खर्च हुँदैन।

खानालले हाल ३३ रोपनी र २४ रोपनी गरी दुई प्लटमा अलैँची खेती गरेका छन्। हिउँदको समयमा तुसारोबाट जोगाउन ‘ग्रीन नेट’ प्रयोग गर्छन्। आगामी वर्ष उत्पादन अझै बढ्ने उनको अनुमान छ। तीन वर्षपछि अलैँचीले उत्पादन दिन सुरु गर्छ, र नयाँ बिरुवाबाट उत्पादन थपिने उनले बताए।

राजनीतिमा सक्रिय खनालले कृषि पेशाले जीवनमा ठूलो अर्थ राख्ने बताउँछन्। राजनीतिका लागि खर्च आवश्यक पर्ने भएकाले पनि आफूले कृषि पेशालाई रोजेको उनको भनाइ छ। खनालकै जस्तै अन्य किसानहरूले पनि यस वर्ष अलैँचीबाट मनग्य आम्दानी गरेका छन्।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार, बर्सेनि रु ४ अर्ब १५ करोड बराबरको अलैँची निर्यात भइरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा मात्र ७८३ दशमलव ७५ मेट्रिक टन अलैँची मेची भन्सारबाट निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले कम हो। गत आव २०८०/८१ मा १ हजार ५२५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको तथ्याङ्क छ।

औषधीय गुणले भरिपूर्ण अलैँची नगदेबाली हो। यसलाई औषधिजन्य वस्तु उत्पादन, मसलाका रूपमा तथा अत्तर (पर्फ्युम) बनाउन प्रयोग गरिन्छ। मासु पकाउन, चिया वा सर्वतमा स्वाद थप्न गाउँघरमा अलैँचीको प्रयोग सामान्य छ।

नेपालबाट भारत हुँदै विदेश निर्यात हुने अलैँची मुख्यतः औषधिमा प्रयोग हुन्छ। नेपालमा प्रशोधन केन्द्रको अभावले समस्या झन् बढेको छ। झापामा एउटा प्रशोधन केन्द्र भए पनि पर्याप्त छैन।

गिरीराज खनालको सफलताले नेपालमा कृषि पेशाको ठूलो सम्भावना रहेको देखाएको छ। यसबाट किसान मात्र होइन, नीति निर्माणमा संलग्न निकायहरूले पनि पाठ सिक्न जरुरी छ।

साताकाे चर्चित
सम्बन्धित