डडेल्धुरा ।
अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।
सन् २०१८ मा स्थापना भएको यस कार्यालयको कार्यक्षेत्र डडेल्धुरा र बझाङ जिल्ला भए पनि हाल कार्यालयमा एक प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत छन्।
कार्यालयमा तीन कर्मचारीको दरबन्दी रहे पनि खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा र एक प्राविधिक सहायक काजमा दाङ गएकाले प्राविधिक सहायक अभिलाषा अर्यालले सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छन्।
उनले भनिन्, “दुई जिल्लाका होटल र उद्योग निरीक्षण तथा अनुगमन गर्ने जिम्मेवारी भए पनि कर्मचारी अभावका कारण समस्या भइरहेको छ।
डडेल्धुराको सातै पालिकामा अनुगमन गरिए पनि अन्य काम गर्न सकिएको छैन।” अनुगमनका क्रममा फिल्डमा जाँदा कार्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको उनले बताइन्।
कर्मचारी अभावका कारण कार्यालयले नियमित अनुगमन र निरीक्षण कार्यमा कठिनाइ भोगिरहेको छ। यसले खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न चुनौती थपेको छ।
सम्बन्धित निकायले शीघ्र कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ।