बागलुङ ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । विदेशको कठिन श्रमबाट फर्केका ढकालले चार वर्षअघि पशुपालन व्यवसाय सुरु गरेका हुन्।
सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर “बलेवा एकीकृत पशुपालन फार्म” दर्ता गरेका ढकालले पहिलो दुई वर्ष आर्थिक कठिनाइ झेले। उनले पशुको दाना, चापट, र घाँस समेत ऋण खोजेर जोहो गरे। तर, बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग आबद्ध भएपछि उनले आर्थिक समस्या समाधान गर्दै व्यवसायिक स्थिरता हासिल गरे।
दैनिक ६० लिटर दूध उत्पादन
हाल उनका फार्ममा पाँचवटा भैँसी र चारवटा गाई छन्। यी पशुहरूले दैनिक ६० लिटर दूध उत्पादन गर्छन्। उनले उत्पादन भएको दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन्। फार्ममा हुर्कदै गरेका चारवटा पाडी पनि भविष्यको आम्दानीको स्रोत बन्दैछन्।
ढकालका अनुसार, दूध बिक्रीबाट उनी मासिक रु १ लाख ३० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। गत वर्ष मात्र उनले रु १७ लाख बढी कमाए। दूध मात्र नभएर फार्मबाट उत्पादित मलमूत्र पनि उनको आम्दानीको स्रोत बनेको छ। उनले प्रतिट्याक्टर रु ५,००० का दरले मल बिक्री गर्छन्।
घाँस खेती र प्रविधिको प्रयोग
घाँस उत्पादन र पशुपालनमा उनले आधुनिक प्रविधिको प्रयोग गरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा उनले दुई रोपनीमा घाँस खेती सुरु गरे। प्राक्टिकल एक्सन नेपालको सहकार्यमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा उपलब्ध गराएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले उनको समय र खर्चमा बचत गरेको छ।
परिवारको साथ र व्यवसायिक सफलता
पशुपालनमा श्रीमती दुर्गादेवी ढकालले मुकुन्दलाई निरन्तर साथ दिँदै आएकी छन्। परिवारको साथ र उत्पादनले उचित मूल्य पाएपछि व्यावसायिक पशुपालन सम्भव भएको मुकुन्द बताउँछन्।
उनको अनुभवमा, थोरै पशुपालनबाट पनि राम्रो स्याहारसुसार र व्यवस्थापन गर्ने हो भने मनग्य आम्दानी लिन सकिन्छ। मलेसियाको श्रम र संघर्षबाट फर्केका ढकालको यो सफलता अन्य युवा र कृषकहरूका लागि प्रेरणादायी छ।