हिरासत कक्षको फोटो खिच्ने डा. निकोलस भुसाल पक्राउ
हिरासत कक्षको फोटो खिच्ने डा. निकोलस भुसाल पक्राउ
    • बेल संचार

    • ८ पुष २०८१, सोमबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन्।

स्रोतका अनुसार भुसाललाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि कास्की लगिने छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र उनलाई कास्की ल्याउन लागिएको जानकारी दिएका छन्। सुरक्षा स्रोतका अनुसार भुसालमाथि साइबर क्राइमसम्बन्धी मुद्दा लाग्न सक्ने देखिएको छ।

भुसालले लामिछानेको स्वास्थ्य परीक्षणका लागि हिरासतमा गएका बेला फोटो खिचेको स्वीकार गरेका छन्। यद्यपि, उनले यसमा आफ्नो कुनै गलत नियत नरहेको र त्यसबारे प्रष्टिकरण दिएका छन्। सुरुमा उनले उक्त फोटो आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका थिए, जसलाई पछि मेटाएका थिए। तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो।

हिरासत कक्षको फोटो सार्वजनिक हुनु प्रहरीको सुरक्षा व्यवस्थामा चुक भएको भन्दै आलोचना समेत भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित