रवि लामिछाने सांसद पदबाट निलम्बित, रास्वपामा नयाँ नेतृत्व चयनको तयारी
रवि लामिछाने सांसद पदबाट निलम्बित, रास्वपामा नयाँ नेतृत्व चयनको तयारी
    • बेल संचार

    • ८ पुष २०८१, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन भएको छ। सोमबार संसद् सचिवालयले यो विषयमा औपचारिक सूचना टाँसेको छ।

कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको संसद् सचिवालयले जनाएको छ। संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सोमबार जारी गरेको सूचनामा शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ अनुसार मुद्दा किनारा नलाग्दासम्म सांसद पद निलम्बन हुने कानुनी व्यवस्था औंल्याइएको छ।

संसदीय सचिवालयको सूचना अनुसार, ऐनको प्रावधानले कुनै राष्ट्रसेवक, कर्मचारी वा पदाधिकारीविरुद्ध मुद्दा दायर भएको अवस्थामा र थुनामा राखिएको अवस्थामा मुद्दाको किनारा नभएसम्म पद स्वतः निलम्बन हुने व्यवस्था छ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रविले नागरिकता प्रकरणमा दोषी ठहर भएपछि सांसद पद गुमाएका थिए। तर उपनिर्वाचनमा पुनः निर्वाचित भएका लामिछाने यसपटक सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण निलम्बनमा परेका हुन्।

लामिछानेको निलम्बनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नयाँ नेता चयन गर्नुपर्ने अवस्था आएको छ। हाल प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद रहेका छन्।

सोमबार रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोल प्रसाद अर्याललाई सुम्पेको छ। लामिछानेको निलम्बनले पार्टीभित्र राजनीतिक नेतृत्वमा थप जटिलता ल्याउन सक्छ।

 

साताकाे चर्चित
सम्बन्धित