मोरङ ।
मोरङ, पथरी शनिश्चरे–१ का भीमसेनी सुब्बाले पाँच वर्षअघि सगरमाथा कृषि फार्म सञ्चालन गरी सावर सुप खेती सुरु गरेका थिए। नेपाललाई भारतसँग जोड्ने पूर्व–पश्चिम रेलमार्ग फार्मअन्तर्गतको जग्गामा पर्ने भएपछि अहिले उनी खेती गर्ने कि नगर्ने भन्ने दोधारमा परेका छन्।
भारतीय सेनाबाट अवकाश प्राप्त गरेर स्वदेश फर्किएका सुब्बाले देशको कृषि विकासमा योगदान गर्ने उद्देश्यसाथ व्यावसायिक खेती थालेका थिए। तर, रेलमार्गले फार्मको जग्गा ओगट्न थालेपछि उनी विकल्पबारे अन्योलमा छन्।
सुब्बाले भारतमा सेवा गर्दा बचाएको आम्दानी र सीपको उपयोग गर्दै नेपालमा नौलो खेती सुरु गरेका थिए। सावर सुपलाई ‘एन्टी क्यान्सर’ वनस्पति भनेर चिनिन्छ। अमेरिकाबाट १,२०० डलरमा बीउ ल्याएर उनले ४५ बिरुवाबाट खेती सुरु गरेका थिए। अहिले यो खेती एक बिघा जमिनसम्म फैलिएको छ।
“रेलमार्गले मेरो फार्मको मुख्य क्षेत्र ओगट्न थालेपछि खेतीको भविष्य अन्योलमा परेको छ। बैंकबाट ऋण लिएर फार्म सुरु गरेको थिएँ। तर, अहिले बैंकिङ प्रक्रिया समेत रोकिएको छ,” उनले भने।
छ वर्षअघि कुखुरा, माछा, सुँगुर, काजु, फलफूल र अग्र्यानिक सागसब्जी उत्पादन सुरु गरेका सुब्बाले पछिल्लो समय सावर सुप खेतीमा जोड दिएका छन्। यो वनस्पतिको पात र फलले रोग प्रतिरोधात्मक क्षमता बढाउने र क्यान्सर रोकथाममा प्रभावकारी हुने बताइएको छ।
सुब्बाका अनुसार, नेपालमा यसको महत्वबारे जानकारी कम भएकाले व्यावसायिक खेतीमार्फत यसको प्रचारप्रसार गर्ने प्रयास भइरहेको छ। “विदेशमा यसको माग र मूल्य निकै उच्च छ। नेपालमा प्रतिकिलो २,२०० रुपैयाँसम्म बिक्री हुन्छ। यसको महत्व बुझाउन अझै धेरै काम गर्न बाँकी छ,” उनले बताए।
रेलमार्गको काम पश्चिम कञ्चनपुरदेखि पूर्व काँकडभिट्टासम्म सुरु भए पनि जग्गा फुकुवा नगरिँदा फार्म व्यवस्थापन चुनौतीपूर्ण बनेको सुब्बाले बताए। उनले भने, “यसले मेरो सपना अधुरो रहने हो कि भन्ने चिन्ता छ। अबको मेरो जीवन भनेकै यो फार्म हो।”
भारतीय सेनामा रहँदा अफ्रिका भ्रमणको क्रममा देखेको सावर सुप खेतीबाट प्रेरित सुब्बाले नेपालमा नौलो कृषि अभ्यास भित्र्याउने प्रयास गरेका हुन्। तर, रेलमार्गको चपेटाले उनका योजनामा अनिश्चितता ल्याएको छ।