जुम्ला ।
पछिल्लो समय परम्परागत तरबार नाच लोप हुने खतरा बढेको छ। शुभकार्य, चाडपर्व र विभिन्न सांस्कृतिक अवसरमा पुरुषहरूद्वारा प्रस्तुत गरिने यो नाच पुस्तान्तरण नहुनु, आधुनिक प्रविधिको प्रभाव, र स्थानीय निकायको उपेक्षाका कारण लोपोन्मुख अवस्थामा पुगेको हो।
तिला गाउँपालिका–१ का स्थानीय करे परियारका अनुसार नयाँ पुस्ताले तरबार नाचप्रति रुचि देखाएको छैन। साथै, स्थानीय सरकारले संरक्षण तथा प्रवर्द्धनमा कुनै योजनाबद्ध पहल नगर्दा यो नाच संकटमा परेको छ। परियार भन्छन्, “यो हाम्रो पुर्खाको सम्पदा हो। यसको संरक्षणका लागि स्थानीय सरकार र समुदायले मिलेर काम गर्नुपर्छ।”
खस साम्राज्यसँग जोडिएको सांस्कृतिक सम्पदा तरबार नाच मुख्यतः जुम्ला र माथिल्लो कर्णाली क्षेत्रका विवाह, व्रतबन्ध, चाडपर्व र सभासमारोहमा खेलाइने गरिन्थ्यो। तर, आधुनिकताका कारण यो परम्परागत संस्कृति हराउँदै गएकोमा स्थानीय चिन्तित छन्।
सिञ्जा गाउँपालिका–२ का मुनप्रसाद शर्मा भन्छन्, “स्थानीय सरकारलाई यसको संरक्षणमा गम्भीर बन्नुपर्ने आवश्यकता छ। यो केवल एक नाच होइन, हाम्रो पहिचान र संस्कृति हो।”
सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले तरबार नाचको संरक्षणमा पालिकाको ध्यानाकर्षण भएको बताएका छन्। “यो नाच खस संस्कृतिसँग जोडिएको सांस्कृतिक सम्पदा हो। पालिकाले यसको संरक्षणका लागि बजेटको व्यवस्था गरेर विशेष योजना कार्यान्वयन गर्नेछ,” धितालले भने।
तरबार नाच जुम्ला र माथिल्लो कर्णालीका केही जिल्लामा फाट्टफुट्ट विवाह तथा सांस्कृतिक कार्यक्रममा देखिने गरे पनि पहिलेको जस्तो रौनक हराएको संस्कृतिका जानकार रमानन्द्र आचार्यले बताए। “सबैका हातमा मोबाइल छ। आधुनिकताले लोक संस्कृतिलाई विस्थापित गर्दैछ। यसको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले अग्रसरता देखाउनुपर्छ,” आचार्यले भने।
परम्परागत सांस्कृतिक सम्पदालाई बचाइराख्न प्रविधिको सदुपयोग गर्दै युवावर्गलाई परम्परागत संस्कृतिप्रति आकर्षित गर्ने पहल आवश्यक देखिन्छ। यसका लागि स्थानीय सरकार र समुदायबीच सहकार्य अपरिहार्य छ।