सप्तरी ।
सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहामा दलित समुदायका किसानहरूले तरकारीखेतीलाई आयआर्जनको मुख्य स्रोत बनाउँदै जीवनस्तर उकास्न सफल भएका छन्। पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका पबितार पासवानले आफ्नो दुई कठ्ठा जमिन र लिजमा लिएको चार कठ्ठा जमिनमा गोलभेँडा, काउली, झिङ्नी, र बोडी लगाएतका तरकारी खेती गर्दै वार्षिक रु एक–डेढ लाखसम्म आम्दानी गरिरहेका छन्।
पबितारले यस वर्ष मात्रै दुई क्विन्टल काउली बेचेर रु ६० हजार आम्दानी गरे भने अहिले खेतमा गोलभेँडा खेती गरिरहेका छन्। “वर्षको तीन याम तरकारी लगाउने गर्छु। यो व्यवसायले परिवारको जीविकोपार्जन मात्र होइन, मनग्य आम्दानीसमेत गरिरहेको छु,” उनले बताए।
उनैझैँ, सोही ठाउँका चलितर पासवानले पनि तरकारीखेतीबाट आफ्नो १२ जनाको परिवारलाई पालनपोषण गरिरहेका छन्। उनले गोलभेँडा, काउली, झिङ्नी, र बोडी खेतीबाट नियमित आम्दानी भइरहेको बताए।
‘बिर्धना कृषिक समूह’ र सामुदायिक पहल
कुशाहाका किसानले ‘बिर्धना कृषिक समूह’ स्थापना गरी सहकार्य गर्दै आएका छन्। समूहमा हाल १६ जना सदस्य छन्। स्थानीय निकाय र विभिन्न संस्थाबाट संस्थागत रूपमा सहयोग लिँदै उनीहरूले तरकारीखेतीलाई प्राविधिक र व्यवस्थित बनाएका छन्।
सबल नेपाल नामक संस्थाले किसानलाई खेतीसम्बन्धी तालिम, उन्नत बीउबिजन, मल्चिङ प्रविधि, र अन्य कृषि उपकरण उपलब्ध गराउँदै तरकारीखेतीतर्फ आकर्षित गरेको छ। “हामी नगरपालिकासँग समन्वय गरेर कृषि, शिक्षा, र बालबालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएका छौँ,” सबल नेपालका सुपरभाइजर अशोककुमार साहले भने।
तरकारीखेतीले बदलियो जीवनस्तर
गरिब तथा विपन्न दलित समुदायको जीवनस्तर सुधार गर्न तरकारीखेतीले महत्त्वपूर्ण भूमिका खेलेको छ। “तरकारीखेतीबाट समुदायले जीवनस्तर सुधार गरेको देख्दा खुसी लाग्छ। आगामी दिनमा पनि संस्थाले छाडेको कार्यक्रमलाई निरन्तरता दिन नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्नेछ,” नगरपालिकाका कृषि शाखा प्रमुख रोशन चौधरीले प्रतिबद्धता व्यक्त गरे।
तरकारीखेतीमा विभिन्न समस्या र चुनौती भए पनि यसले समुदायको आर्थिक अवस्था सुधार गर्न योगदान पुर्याएको छ। समुदायको आत्मनिर्भरता बढाउन र आर्थिक रूपमा सबल बनाउन यो पहल प्रेरणादायी बनेको छ।