काठमाडाैं।
यसै महिना अफगानिस्तानको काबुलस्थित एक मदरसामा आयोजित कार्यक्रममा तालिबान मन्त्रिपरिषद्का दुई प्रमुख नेताहरूबीचको गहिरो मतभेद सार्वजनिक भएको छ। हक्कानी समूहका नेता र आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीले तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाका निकट उच्च शिक्षा मन्त्री निदा मोहम्मद नदीममाथि अप्रत्यक्ष रूपमा ‘संकीर्ण मानसिकता’ भएको आरोप लगाए।
कार्यक्रममा निदा मोहम्मद नदीमले कठोर स्वरमा तालिबान विरोधीहरूको आलोचना गर्दै तिनलाई ‘काफिर र इस्लामिक व्यवस्थाका शत्रु’ भनेका थिए। यता, सिराजुद्दीन हक्कानीले कडा अभिव्यक्तिको आलोचना गर्दै भ्रष्ट व्यक्तिहरूलाई सुधार्ने जिम्मेवारी आफ्नो भएको र संकीर्ण सोचकै कारण मानिसहरू काफिर बन्ने बताए।
काबुलमा भएको यो घटनाले तालिबान नेताहरूबीच आन्तरिक विभाजनलाई उजागर गरेको छ। हिबतुल्लाह अखुन्दजादा सत्तामा आफ्नो पकड बलियो बनाउन विभिन्न विवादास्पद निर्णयहरू गर्दै आएको र प्रमुख पदमा एकपक्षीय रूपमा शक्तिको प्रयोग गरेको आरोप उनीमाथि लागेको छ।
महिला शिक्षामाथिको प्रतिबन्ध लगायतका विषयमा तालिबान नेताहरूबीच मतभिन्नता छ। सिराजुद्दीन हक्कानी, रक्षामन्त्री मोहम्मद याकूब मुजाहिद, विदेशमन्त्री अमिर खान मुत्ताकी र उपप्रधानमन्त्री अब्दुल घानी बरादरलगायत नेताहरू अखुन्दजादाको कठोर व्यवहारको विपक्षमा छन्।
सिराजुद्दीन हक्कानी, जो तालिबानको हक्कानी नेटवर्कका प्रमुख हुन्, मुस्लिम ब्रदरहुडसँग नजिक मानिन्छन्। उनी सरकारी पदमा योग्य र शिक्षित व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने तर्क गर्छन्। यद्यपि उनी तालिबानको धार्मिक वैधतालाई चुनौती दिन सजिलो नहुने विश्लेषकहरू बताउँछन्।
हिबतुल्लाह अखुन्दजादा सत्ताको केन्द्रबिन्दुमा रहँदै आएका छन्। उनले गृह मन्त्रालय, रक्षा मन्त्रालय र तालिबान इन्टेलिजेन्स सेन्टरलाई प्रत्यक्ष नियन्त्रणमा राखेर सैन्य उपकरण वितरण र प्रयोगको सम्पूर्ण अधिकार लिएका छन्।
सिराजुद्दीन हक्कानीमाथि अमेरिकी गुप्तचर एजेन्सीले निगरानी राख्दै १० मिलियन डलरको इनाम राखेको छ। उनी पाकिस्तानसँग सम्बन्ध सुधार्न र खाडी मुलुकहरूको समर्थन हासिल गर्न चाहन्छन्।
तालिबान नेताहरूबीचको बढ्दो मतभेदले संगठनभित्रको अस्थिरता झल्काउँछ। अखुन्दजादाको कठोर निर्णय र हक्कानी समूहको वैकल्पिक दृष्टिकोणले तालिबान सरकारको भविष्य अन्योलमा पारेको छ।
बीबीसी