बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले वर्तमान सरकारको सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा नेतृ सङ्ग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सफल नभएको जिकिर गरिन्।
तत्काल संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने कुरामा नेतृ सङ्ग्रौलाको जोड थियो।
कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको र सरकार सञ्चालनमा भएका व्यक्तिहरू अलमलिएका प्रतिक्रिया दिने गरेको बताइन्। कांग्रेसले सञ्चालन गरेको अभियान सङ्गठनलाई मजबुत बनाउन, जनतासँग नेताहरू पुगेर समस्या पहिचान गर्न र समाधान गर्नका लागि देशभर प्रतिनिधि खटिएको जानकारी दिइन्।
समयमै कांग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त रहेको उनले बताइन्। वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र नभएर अस्थिरताको अन्त्य र संविधान संशोधनको लागि कांग्रेस र एमाले एक ठाउँमा आएको सङ्ग्रौलाले बताइन्।
संविधान संशोधनमा निर्वाचन प्रणालीसहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढेको बताउँदै कार्यदल मार्फत यसलाई अघि बढाउने बताइन्। वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्ने, भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्ने, र कुनै पनि व्यक्तिलाई छोड्न नहुने बताइन्।