काठमाडौं
जुम्ला जिल्लाको सिंजा गाउँपालिका–३, नराकोटमा अब मालपोत र नापी कार्यालय स्थापना हुने पक्का भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय पारित गर्दै सिंजाली जनताको दीर्घकालीन माग पूरा गरेको छ।
सिंजा क्षेत्रका तीन गाउँपालिका – हिमा, सिंजा, र कनकासुन्दरीका बासिन्दाहरूका लागि विशेष लाभदायक हुने छ । यसमा स्थानीय जनता, बौद्धिक वर्ग, जनप्रतिनिधि, राजनीतिक दल, र पत्रकारहरूको योगदान अतुलनीय छ।”
सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालका अनुसार यो निर्णयले विकासप्रतिको जनताको विश्वास अझै बलियो बनाएको छ। “स्थानीय सरकारको निरन्तर प्रयास र लामो समयदेखिको संघर्षपछि यो सम्भव भएको हो,” उनले बताए।
यसअघि सिंजा क्षेत्रका बासिन्दाहरूलाई मालपोत र नापीसम्बन्धी कामका लागि सदरमुकाम खलंगासम्म जानुपर्ने बाध्यता थियो। टाढाको दूरी, समय र खर्चको कारण सेवाग्राहीले असुविधा भोग्दै आएका थिए। नराकोटमा कार्यालय स्थापना भएपछि स्थानीय जनतालाई अब सहज र छिटो सेवा उपलब्ध हुनेछ।
“यसले खलंगामा देखिने भिडभाड मात्रै कम गर्ने छैन, सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सक्नेछन्,” अध्यक्ष धितालले थपे।
स्थानीय जनप्रतिनिधिहरूले यो निर्णयले आर्थिक र सामाजिक सुधारका नयाँ बाटो खोल्ने विश्वास गरेका छन्। कार्यालय स्थापना भएपछि प्रशासनिक सेवा सहज हुनुका साथै, क्षेत्रीय विकासलाई समेत टेवा पुग्ने उनीहरूको भनाइ छ।
तर, प्रभावकारी सेवा प्रदान गर्न कार्यालयका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनमा समयमै ध्यान दिनुपर्ने कुरा उनीहरूले औंल्याएका छन्।
सिंजा क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, र प्रशासनिक महत्वलाई बलियो बनाउने यो निर्णयले जनताको जीवनस्तर सुधार्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
“सिंजाली जनताको दीर्घकालीन प्रतीक्षा समाप्त भएको छ। यो निर्णयले स्थानीयस्तरमा सकारात्मक प्रभाव मात्र होइन, क्षेत्रीय विकासमा समेत नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।