रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिकालाई जोड्ने पुछिघाटको पुलमा गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएपछि स्थानीयले प्लास्टिक र काठको दुईवटा डुङ्गाको भरमा आवतजावत गरिरहेका छन्।
पुलको अभावले पुछिघाटका अधिकांश मानिस, जसका खेतबारी सिन्धुलीको चैनपुर क्षेत्रमा पर्छन्, दैनिक कृषिकार्य गर्न जोखिमपूर्ण डुङ्गा यात्रामा निर्भर छन्। तर, डुङ्गा चलाउने स्थानीय माझीहरू कुनै पारिश्रमिक नपाउँदा आफ्नो जीविकोपार्जनमा गम्भीर संकट भोगिरहेका छन्।
डुङ्गा चालक हिराबहादुर माझीले दिनभर डुङ्गा तार्दा पनि घर फर्कंदा रित्तो हात हुने गरेको बताए। “कसैले दया गरेर दिएको रु २०–५० बाहेक कुनै आम्दानी छैन। जिल्ला प्रशासनले पैसा लिन पनि बन्देज लगाएको छ, तर जीविकोपार्जनका लागि कुनै सहयोग गरेका छैनन्,” उनले गुनासो गरे।
अर्का चालक साइते माझीले पनि आफ्नो पारिश्रमिकबारे कुनै निर्णय नभएपछि समस्या भइरहेको बताए। “गाउँमा पालो लगाएर डुङ्गा तार्ने व्यवस्था गरेका छौँ, तर त्यो पनि प्रभावकारी भएको छैन,” उनले भने।डुङ्गा चालकको असन्तुष्टिका कारण खाँडादेवी गाउँपालिका–४ का करिब २६ विद्यार्थी र शिक्षकलाई विद्यालय पुग्न गाह्रो भइरहेको छ। स्थानीय शिक्षक इन्द्रबहादुर श्रेष्ठले चालकलाई तलब दिन वा तर्ने यात्रुबाट न्यून शुल्क उठाउन दिने व्यवस्था गर्न अपिल गरे। उनले भने, “डुङ्गा चालकहरूलाई सन्तुष्ट बनाउन नसके डुङ्गा सेवा बन्द हुने जोखिम छ, जसले विद्यार्थी र कृषकको दैनिकी थप कठिन बनाउँछ।”
विद्यार्थी विना माझीले तालिमबिनाका डुङ्गा चालकसँग यात्रा गर्नु जोखिमपूर्ण भएको बताउँदै झोलुङ्गे पुलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याइन्।खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले समस्याबारे जानकारी भए पनि बजेट अभावले समाधान गर्न नसकिएको बताए। उनले डुङ्गा चालकका समस्या सम्बोधनका लागि छलफल सुरु गरिएको जानकारी दिए।
स्थानीय विन्दा नेपाली र खाँडादेवी गाउँपालिका–६ का अध्यक्ष नारायण कार्कीले पनि पुल मर्मत र डुङ्गा व्यवस्थापनमा चाँडो ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे।पुछिघाटमा डुङ्गाबाट आवतजावत गर्ने करिब दुई सयभन्दा बढी मानिस बाढीले क्षति पुर्याएको पुलका कारण प्रभावित भइरहेका छन्। तत्कालका लागि डुङ्गा चालकलाई तलब दिने वा शुल्क उठाउने व्यवस्थासहित समस्या समाधानमा राज्यले पहल गर्नुपर्ने स्थानीयको माग छ।
।