दैलेख ।
दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा जारी पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको ड्रिलिङ अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म ३,९३० मिटरको ड्रिलिङ सम्पन्न भइसकेको छ, अब मात्र ७० मिटर खन्न बाँकी रहेको छ।
गत वैशाख २८ गतेदेखि सुरु भएको यो ड्रिलिङ कार्य यसै महिना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पेट्रोलियम परियोजनाका प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार निर्धारित समयभन्दा अगावै काम सकिने अपेक्षा गरिएको छ।चीन सरकारको रु २ अर्ब ५० करोडको अनुदानमा परियोजना कार्यान्वयनमा रहेको छ।
यस अन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। चिनियाँ र नेपाली प्राविधिक गरी ८० जनाको समूह अन्वेषण कार्यमा संलग्न छन्।चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, र जिओ केमिकल स्याम्पलिङ सर्भे तोकिएकै समयमा सम्पन्न गरेको थियो।
विभागका अनुसार ड्रिलिङ कार्य पनि निर्धारित समयभन्दा अगावै सम्पन्न गरिने सम्भावना छ।परियोजनामा खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे, र सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी सक्रिय छन्। अन्वेषणको यस चरण सफल भएमा दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादनको सम्भावना बढ्ने अनुमान गरिएको छ।
यो परियोजना नेपालका लागि ऊर्जा स्रोतको खोजमा महत्त्वपूर्ण माइलस्टोन हुने अपेक्षा गरिएको छ।