प्रचण्डद्वारा नेपाली विशेषताको समाजवाद निर्माणका लागि माओको विचारबाट प्रेरणा लिन आग्रह
प्रचण्डद्वारा नेपाली विशेषताको समाजवाद निर्माणका लागि माओको विचारबाट प्रेरणा लिन आग्रह
    • बेल संचार

    • ११ पुष २०८१, बिहीबार

काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओ त्सेतुङको विचार र प्रयोगलाई आत्मसात गर्दै नेपाली विशेषताको समाजवाद निर्माणका लागि जुट्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

माओको १३२ औँ जन्मजयन्तीका अवसरमा बिहीबार जारी गरेको विज्ञप्तिमा प्रचण्डले समाजवाद निर्माणको आधार तयार गर्न आफूहरूको संघर्ष जारी रहेको उल्लेख गरेका छन्। उनले विगतमा सरकारको नेतृत्वमा रहँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय, र समृद्धिको अभियानलाई राजनीतिक रणनीतिको कार्यान्वयनका लागि महत्वपूर्ण कदमका रूपमा चित्रण गरे।

विज्ञप्तिमा भनिएको छ, “विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनीतिक कदम थियो। हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडक दुवै मोर्चाबाट खबरदारी गरिरहेको छ।”

प्रचण्डले माओ त्सेतुङको विचार र प्रयोगले नेपाली कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणमा अध्ययन, अनुसन्धान, र प्रयोगको लागि प्रेरित गरेको बताए।

उनले माओको योगदानलाई स्मरण गर्दै भने, “माओले अर्धसामन्ती र अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अघि बढाएका थिए। माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा मात्र होइन, नेपाली क्रान्तिका लागि पनि मार्गदर्शकको रूपमा रहेको छ।”

चीनको हुनान प्रान्तको साओसानमा १८९३ डिसेम्बर २६ मा जन्मिएका माओ त्सेतुङले आधुनिक चीन निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित