विराटनगर ।
मोरङको जहदा गाउँपालिकामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा मोरङ कटहरी गाउँपालिका–२ का २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारत विहार राज्य अररियाका १८ वर्षीय महमद गुल्जर रहेका छन्। महमद गुल्जर हाल कटहरी–२ मा रहेको ग्यारेजमा काम गर्दै आएका थिए।
मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको थियो। घटना पछि युवतीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरी हातखुट्टा बाँधेर, मुखमा पट्टी लगाएको अवस्थामा अर्धचेत अवस्थामा फेला पारिएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, प्रारम्भिक बयान र घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा आरोपितहरूलाई पक्राउ गरिएको हो। उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग र जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
घाइते युवतीको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था स्थिर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले बाँसको झ्याङमा लगेर बलात्कार गरिएको खुलासा गरेको छ।