काठमाडाैं ।
अजरबैजान एयरलाइन्सको विमान दुर्घटनामा ३८ यात्रुको मृत्यु भएसँगै रुसमाथि यो दुर्घटना गराएको आरोप लागेको छ। विमान दुर्घटनामा रुसी आक्रमणको सम्भावना रहेको विभिन्न स्रोतहरूले जनाएका छन्।
बुधबार कजाकिस्तानको अकताउ शहर नजिकै एम्ब्रेर जेट विमान दुर्घटनाग्रस्त हुँदा ६२ यात्रु र पाँच चालक दलका सदस्यमध्ये ३८ जनाको मृत्यु भएको र २९ जना घाइते भएको पुष्टि भएको छ। दुर्घटनापछि विमान निर्धारित मार्गबाट सयौं माइल पर क्यास्पियन सागरको किनारमा खसेको थियो।
वाल स्ट्रिट जर्नलका अनुसार, ‘ओस्प्रे फ्लाइट सोलुसन्स’ले जहाजलाई रुसी एन्टिएयरक्राफ्ट मिसाइलले प्रहार गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ। ओस्प्रेका प्रमुख गुप्तचर अधिकारी म्याट बोरीले भग्नावशेषको भिडियो र रसियाको हवाई सुरक्षाको स्थितिलाई आधार मानी यस्तो दाबी गरेका हुन्।
युक्रेनी राष्ट्रिय सुरक्षा अधिकारी एन्ड्री कोभालेन्कोले पनि सामाजिक सञ्जाल एक्समा लेख्दै दुर्घटनामा ‘रुसी वायु-रक्षा प्रणाली’को हात रहेको आरोप लगाए।
दक्षिणी रसियामा युक्रेनी ड्रोन आक्रमणका केही घण्टापछि यो दुर्घटना भएको हो। यस क्षेत्रमा ड्रोन गतिविधिका कारण विमानस्थलहरू बन्द हुने क्रम जारी रहेकोले दुर्घटनामा त्यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
तर रुसले भने उक्त आरोपको खण्डन गर्दै विमान दुर्घटना चरासँग ठोक्किएर हुन सक्ने बताएको छ। रुसी उड्डयन निगरानी संस्थाका अनुसार, प्रारम्भिक संकेतहरूले विमान चरासँग ठोक्किएर दुर्घटनाग्रस्त भएको देखाएको छ।
रोयटर्सले सार्वजनिक गरेको घटनाको भिडियोमा विमान आगो लाग्नुअघि तीव्र गतिमा तल झर्दै गरेको र कालो धुवाँ निस्किएको देखिएको छ।
रुस भ्रमणमा रहेका अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभ दुर्घटनाको खबरपछि स्वदेश फर्किएका छन्। घटनाको छानबिन जारी रहेको अजरबैजानले जनाएको छ।