चितवन ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनले पर्याप्त बिजनेस पाउन नसकेको गुनासो गरेका छन्।
बिहीबार स्थानीय तहका जनप्रतिनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले सरकारलाई सदनलाई आवश्यक बिजनेस दिन आग्रह गरे।
अध्यक्ष दाहालले भने, “कानुन निर्माणको काम जनचाहनाअनुसार हुन सकेको छैन। बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका छन्।
” उनले आवश्यक ऐन निर्माण गर्न नसकिएको स्वीकार गर्दै कानुन निर्माण प्रक्रियामा सरकारको सक्रियता आवश्यक भएको बताए।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले स्थानीय तहसँगको समन्वय, सम्पर्क, र संवाद सबै तहमा कमी भएको महसुस भएको बताए।
उनले सातै प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय पालिकासँगको छलफलबाट मात्रै तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने धारणा राखे।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सरकारका तीन तहबीच सहकार्य र समन्वय अभाव रहेकोप्रति ध्यानाकर्षण गराएका थिए।