जलवायु परिवर्तनका चुनौती समाधानमा एकजुट हुन प्रधानमन्त्री ओलीको आह्वान
जलवायु परिवर्तनका चुनौती समाधानमा एकजुट हुन प्रधानमन्त्री ओलीको आह्वान
    • बेल संचार

    • ११ पुष २०८१, बिहीबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै संस्था र व्यक्तिहरूलाई जलवायु परिवर्तनको चुनौती समाधान गर्न एकजुट हुन आह्वान गरेका छन्।

वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न बेमेल भइरहेका मुलुकहरूले पनि सहकार्य गर्नुपर्नेमा जोड दिए।

उनले भने, “हामीले ग्लोबल वार्मिङका लागि कुनै योगदान गरेका छैनौँ, तर त्यसको मार खेप्न बाध्य भएका छौँ। यो नेपाल मात्रै होइन, ग्लोबल मुद्दा हो। हिमालय जलवायुको मुद्धा हिमालको मात्रै होइन, विश्वको वार्मिङ सिस्टमसँग जोडिएको छ। हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणामा जान आवश्यक छ।”

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको प्रभावले नेपालजस्तो हिमाली देशलाई गम्भीर असर गरेको उल्लेख गर्दै कृषि क्षेत्रमा परेको प्रतिकूल प्रभावलाई कम गर्न वन र सञ्चार मन्त्रालयले जागरण फैलाउनु पर्ने बताए। उनले डढेलो नियन्त्रण र प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा पनि जोड दिए।

नेपालले जलवायु क्षतिपूर्ति पाउनुपर्ने कुरा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा समेत उठाएको स्मरण गराउँदै प्रधानमन्त्रीले नेपालले १७ प्रतिशत भूभाग संरक्षित राखेर जलवायु संरक्षणमा योगदान दिएको बताए। साथै, उनले कोप २९ को समीक्षा गर्दै अबको कोप ३० को तयारी थाल्न आग्रह गरे।

गत कात्तिक २६ देखि मङ्सिर ७ सम्म अजरबैजानको बाकुमा सम्पन्न २९ औँ विश्व जलवायु सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो।

कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, सङ्घीय सांसद, संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

साताकाे चर्चित
सम्बन्धित