काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीहरूलाई गठबन्धन र कुर्सीको दौडमा लागेको आरोप लगाएका छन्।
१३२औँ माओ दिवसको अवसरमा बिहीबार प्रज्ञा भवनमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले अहिलेको चुनौतीलाई पार गर्न पुनर्गठन आवश्यक रहेको बताएका छन्।
‘भ्रष्टाचारको दलदलबाट कम्युनिस्ट पार्टीका प्रधानमन्त्री नै माथि उठ्न नसक्दा जनताले प्रश्न गरेका छन्। अब, कम्युनिस्ट आन्दोलनको पुनर्गठनसँगै वैचारिक र राजनीतिक सुधार आवश्यक छ,’ उनले भने।
उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध कसरी लड्नुपर्छ भन्ने कुरा सिक्न जरुरी रहेको पनि बताए।
नेपालको वर्तमान राजनीतिक अवस्थालाई ‘न हास न बकुल्लाको चाल’ जस्तो भन्दै उनले प्रश्न गरे, ‘के सत्ताको झिनाझम्टीमै लागिरहने हो?’ साथै, उनले जनजीविकाका सवालहरू समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राखे।