रसुवा ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत सम्पन्न भएको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि यो जानकारी दिएका हुन्।
बन्दरगाह निर्माणको क्रममा भोटेकोशी बगर क्षेत्रमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टका पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश तथा त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्ग निर्माण, बगर सम्याउने कार्य, र गोदामका दुई भवनको निर्माण पूरा भएको छ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार, बन्दरगाह निर्माणको काम आगामी असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक सवारी साधन र एक सय साना सवारी साधन पार्किङ गर्न मिल्ने संरचना निर्माण हुनेछ। हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिइएको छ।