पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा डा. मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त
    • बेल संचार

    • १२ पुष २०८१, शुक्रबार

काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

शुक्रबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सन् २००८ मा नेपालका गणतन्त्रकालीन पहिलो प्रधानमन्त्रीका रूपमा भारत भ्रमणको क्रममा डा. सिंहले देखाएको न्यानो आतिथ्यता सम्झिएका छन्। सो भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, पारस्परिक हितका विषय, विश्वव्यापी मुद्दाहरू, र क्षेत्रीय राजनीतिबारे व्यापक र स्पष्ट छलफल भएको उनले उल्लेख गरेका छन्।

शोक सन्देशमा उनले भनेका छन्, “भारतका सम्माननीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनको दुखद खबर सुनेर म अत्यन्त दुःखी छु। सन् २००८ मा नेपालको प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा उहाँको न्यानो आतिथ्य पाउने अवसर पाएको थिएँ। त्यति बेला नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विषयमा गहन छलफल भएका थिए। म उहाँको बुद्धि, दृष्टि, र हाम्रो राष्ट्रहरूबीचको बलियो सम्बन्ध निर्माणमा देखाएको समर्पण सधैं सम्झिरहनेछु।”

डा. सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवार, भारतीय जनसमुदाय, र भारत सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित