काठमाडाैं
भारत सरकारले पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
शनिबार अन्त्येष्टिको दिन भारतभरका सरकारी कार्यालय तथा विदेशस्थित भारतीय दूतावास र उच्चायोगहरूमा राष्ट्रिय झण्डा झुकाइनेछ।
यसैगरी, केरलाले डिसेम्बर २६ देखि जनवरी १ सम्म सात दिने राजकीय शोकको घोषणा गरेको छ। राज्य सरकारले सबै जिल्ला अधिकारीहरूलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ। कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सात दिने राजकीय शोकसँगै सार्वजनिक बिदाको घोषणा गरेको छ।
डा. सिंहको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेताहरू लगायत थुप्रैले गहिरो शोक व्यक्त गरेका छन्।
मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो। उनले पञ्जाब विश्वविद्यालयमा अध्ययनपछि क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी उपाधि प्राप्त गरेका थिए।
उनको योगदान र व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय जनता, सरकार, र राजनीतिक नेतृत्वले उनको स्मृतिलाई सदा सम्झिरहने बताएका छन्।