रास्वपामा संसदीय दलको कार्यवाहक नेता चयनबारे छलफल
रास्वपामा संसदीय दलको कार्यवाहक नेता चयनबारे छलफल
    • बेल संचार

    • १२ पुष २०८१, शुक्रबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको कार्यवाहक नेताबारे निर्णय गर्न सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा नेताको चयनबारे छलफल हुने भएको छ।

पार्टी सभापति र संसदीय दलका नेता रवि लामिछाने सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा सोमबार सांसद पदबाट निलम्बित भएपछि नयाँ कार्यवाहक नेता चयनको प्रक्रिया अघि बढेको हो।

हाल संसदीय दलको नेताका लागि पाँच आकांक्षी रहेका छन्। तीमध्ये उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ, र सांसद चन्दा कार्कीले आफ्नो दाबी अघि सारेका छन्।

डिपी अर्याललाई कार्यवाहक सभापति बनाइएको भए पनि रवि लामिछानेले हिरासतबाटै उनलाई समर्थन गरेकाले पार्टीभित्र केही असन्तोष देखिएको छ। सहमहामन्त्री सुमना श्रेष्ठले भने आफू मुद्दा र एजेन्डाका आधारमा संसदीय दल नेताको लागि योग्य भएको बताउँदै आफ्नो दाबी खुलेर राखेकी छन्।

उपनेता विराजभक्त श्रेष्ठले पनि आफू संसदीय दलको स्वाभाविक उत्तराधिकारी भएको धारणा राखेका छन्। अर्कोतर्फ, समानुपातिक सांसदलाई दल नेता मान्दा गलत सन्देश जाने भन्दै केही नेताले सुमना श्रेष्ठको दाबीलाई अस्वीकार गरेका छन्।

विवाद समाधान कठिन भएमा डिपी अर्याललाई नै कार्यवाहक नेताका रूपमा अघि सार्ने सम्भावना रहेको उच्च स्रोतले जनाएको छ। ‘अरु नेतामा सहमति नजुटेमा अर्याललाई कार्यवाहक नेता तोक्न सकिने सम्भावना छ,’ एक नेताले भने।

रास्वपाको नेतृत्व चयनमा देखिएको यो विवाद समाधानका लागि सचिवालय बैठक निर्णायक हुने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित