सांसद लामाको सहयाेगमा अलपत्र परेका १३ जना जुम्ला फर्किंदै
सांसद लामाको सहयाेगमा अलपत्र परेका १३ जना जुम्ला फर्किंदै
    • उमेश बुढा

    • १३ पुष २०८१, शनिबार

जुम्ला
कामको सिलसिलामा भारत गएका जुम्ला चन्दननाथ नगरपालिका–७, मिचा गाउँका १३ जना नागरिकको उद्धार गरि नेपाल फर्काइएको छ।

भारतमा अलपत्र परेका उनीहरूको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जुम्लाकी सांसद छिरिङ ल्हामु लामा तामाङले रु ८०,००० नगद सहयोग पठाएर उनीहरूलाई गाडीमार्फत नेपाल फर्कने व्यवस्था मिलाउनुभएको हो।

सांसद लामाका अनुसार, ती नागरिकलाई एक निर्माण व्यवसायीले काम दिने भन्दै भारत लगेको थियो। तर, व्यवसायी भागेपछि उनीहरू अरुणाचल प्रदेशको चीनसँगको सीमामा अलपत्र परेका थिए। सांसदले तत्कालै खानपिन र नेपाल फर्किनका लागि आवश्यक रकम उपलब्ध गराएर उद्धारको प्रक्रिया अघि बढाउनुभएको हो।

स्थानीय रामचन्द्र नेपालीका अनुसार, ती १३ जनामध्ये कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, र रमेश सार्कीलगायतका नागरिकलाई नेपालगञ्जबाट एक व्यक्तिले कामका लागि भारत लगेका थिए। तर, भारतमा पुगेपछि उनीहरूलाई असहज परिस्थितिमा छोडिएको थियो।

सांसद लामाको पहलमा रु ८०,००० सहयोग जुटाएपछि मिचाका शैलेन्द्र केसीले रु ४५,००० र कर्साङ ठकुरीले रु १६,००० थप सहयोग गरे। यस सहयोगले गर्दा ती नागरिकको उद्धार सम्भव भएको हो।

सांसद लामाको सहकार्यमा महेशजंग शाहीले उद्धार टोलीलाई समन्वय गरी नेपाल फर्काउने काममा भूमिका निर्वाह गर्नुभएको थियो। उद्धार गरिएका नागरिकहरु भोलि मात्रै काकडभिट्टा पुग्ने अपेक्षा गरिएको छ।

अलपत्र परेका नागरिकलाई उद्धार गरेकामा स्थानीय तथा आफन्तहरूले सांसद छिरिङ ल्हामु लामाप्रति आभार व्यक्त गरेका छन्। नगद सहयोग जुटाएर मध्यरातमा समन्वय गरी उद्धार गरिएकामा सांसदको प्रशंसा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित