कास्की ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गरेका छन्। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा आयोजित २६औँ पोखरा सडक महोत्सवको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
मन्त्री गुरुङले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले पारित गरेको २० बुँदे कार्ययोजनाबारे जानकारी गराउँदै यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहल गर्नुपर्ने बताए। साथै, स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सार जस्ता व्यवस्थाहरू पोखराकै विमानस्थलबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले पोखराबाट देशका अन्य छ वटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नु आवश्यक रहेको भन्दै शिक्षा र स्वास्थ्यको केन्द्रको रूपमा पोखरालाई विकास गर्न सकिने संभावना औँल्याए। धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको प्राकृतिक सौन्दर्यका कारण गण्डकी प्रदेशलाई माउन्टेन फ्लाइट मार्फत पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सकिने उनले बताए।
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री पद्मा जिसी श्रेष्ठले गण्डकी प्रदेशलाई प्रकृतिले दिएको अनुपम उपहारको सही उपयोग गर्नुपर्नेमा जोड दिए। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै यहाँका धेरै कामहरू अघि बढेको उल्लेख गरे।रेवानका केन्द्रीय अध्यक्ष सङ्घर्ष बिष्टले महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै विदेशी पर्यटकको बसाइ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। नेपाली उत्पादनलाई प्रोत्साहन र विश्व बजारमा पुर्याउन महोत्सवले महत्वपूर्ण योगदान दिने उनले बताए।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, रेवानका सल्लाहकार गणेशबहादुर भट्टराई र कार्यक्रम संयोजक विकास भट्टराईले महोत्सवको पर्यटकीय महत्वबारे प्रकाश पारे।महोत्सवको उद्घाटनअघि सांस्कृतिक झाँकीसहितको र्याली निकालिएको थियो। ६० भन्दा बढी आमा समूह, विभिन्न जातजाति र पर्यटनसम्बद्ध संस्थाहरूको सहभागितामा आयोजित र्यालीले महोत्सवको रौनकता थपेको थियो।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, सांस्कृतिक झाँकी, रात्रिकालीन कन्सर्ट, रस्साकसी, मःम खाने प्रतियोगिता, चम्चा दौड र डुङ्गा दौडजस्ता मनोरञ्जनात्मक गतिविधि समावेश गरिएका छन्।महोत्सवको अवसरमा रेष्टुरेन्टहरूले खानामा २० प्रतिशत, होटलहरूले २० प्रतिशत र प्याराग्लाइडिङ सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरणमैत्री वस्तुहरूको प्रयोग र नेपाली हस्तकलाको प्रोत्साहनका लागि निःशुल्क स्टलहरू राखिएका छन्।
यो महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ, जसले पोखरालाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा अझ स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।