नुनथलाकी विरस तामाङ: चिया बिक्रीबाट सफल उद्यमी
नुनथलाकी विरस तामाङ: चिया बिक्रीबाट सफल उद्यमी
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

खोटाङ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष पूरा भएको छ। २०५४ सालमा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा ‘विरस होटल एण्ड लज’ स्थापना गरेर चिया व्यवसाय सुरु गरेकी उनी हाल मासिक रु ५० हजारभन्दा बढी बचत गर्न सफल भएकी छिन्।

समुद्री सतहबाट १,८२३ मिटर उचाइमा रहेको नुनथलाको चिसो सिरेटोमा चिया पिउनेहरूको भीड बिहानदेखि बेलुका अबेरसम्म लाग्ने गर्छ। विरसको होटलमा दूधको छाली र चिउरा खाजाका रूपमा लोकप्रिय छन्। यहाँ दैनिक २५ करुवा दूध खपत हुने गरेको छ, जसलाई नुनथलाकै किसानहरूबाट प्रतिकुरुवा रु ४० मा खरिद गरिन्छ।

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र भएकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर विरसले होटल सञ्चालन गरेकी हुन्। काठमाडौँ र तराईका यात्रुहरू यहाँको स्वादिष्ट चिया र छालीका लागि प्रख्यात होटलमा आउने गर्छन्।

विरसले चिया बिक्रीबाट कमाएको आम्दानीले आफ्ना तीन सन्तानको शिक्षादीक्षा र पालनपोषण गरिरहेकी छिन्। उनका एक छोरीले स्नातकोत्तर, अर्की छोरीले स्नातक, र छोराले कक्षा १२ उत्तीर्ण गरेका छन्। तीनैजना हाल अध्ययनका लागि जापानमा छन्।

चिया व्यवसायबाट नुनथलाका किसानहरूलाई समेत प्रत्यक्ष फाइदा पुगेको छ। विरसले किसानबाट दूध खरिद गरेर उनीहरूको आम्दानीको स्रोत पनि बढाएको उल्लेख गरेकी छिन्।

विरस तामाङको चिया व्यवसाय केवल आर्थिक उन्नतिको कथा मात्र होइन, परिश्रम, समर्पण र उद्यमशीलताले कसरी जीवन बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो।

साताकाे चर्चित
सम्बन्धित