स्याङ्जाका किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन
स्याङ्जाका किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

वालिङ ।

स्याङ्जाको वालिङ नगरपालिका–१ धरमपानीका कृषक कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट वार्षिक रु ४ लाख मुनाफा आर्जन गरेका छन्। सबै खर्च कटाएर एक वर्षमा ४,५०० दर्जन काँचो र पाकेको केरा बेच्दा उनले उक्त नाफा कमाएको बताए।

ढुङ्गानाले भने, “मेरो बारीका केरा स्थानीय व्यापारीले बगैचाबाटै खरिद गर्छन्।” स्थानीय बजारमा केराको उच्च माग भए पनि आपूर्ति भने मागअनुसार पूरा गर्न सकिएको छैन।तीन वर्षअघि ड्रागन फ्रुटको खेतीका लागि जग्गा सम्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुने जानकारी पाएपछि उनले व्यावसायिक केराखेती सुरु गरेका थिए। उनको बगैचामा स्थानीय र हाइब्रिड जातका झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे, र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा फल्ने गरेका छन्।

ढुङ्गानाले हाल २० रोपनीमा केराखेती र ४० रोपनीमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। व्यावसायिक खेतीबाट उनले राम्रो आम्दानी गर्नुका साथै स्थानीय स्तरमा फलफूलको आपूर्ति बढाउन सहयोग पुर्याएका छन्।

कृषि उद्यमशीलताको यस सफल प्रयासले कृषिमा रुचि राख्ने युवालाई प्रेरणा दिनुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुर्याइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित