अत्यधिक चिसोले हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन प्रभावित
अत्यधिक चिसोले हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन प्रभावित
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

सोलुखुम्बु ।

अत्यधिक चिसो बढेसँगै सोलुखुम्बु जिल्लाको जनजीवन कठिन बन्दै गएको छ। सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेकाले स्थानीय नागरिकको दैनिकी प्रभावित भएको हो। हावापानी मापन केन्द्रका अनुसार शनिबार बिहान सल्लेरीको तापक्रम माइनस १ डिग्री सेल्सियस मापन गरिएको छ।

केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीमा केही दिनयता तापक्रम माइनसमा पुगेको छ। चिसोले गर्दा स्थानीयवासी बिहान-बेलुका आगो तापेर समय बिताउन बाध्य भएका छन्। स्थानीय निरकुमार नेपालीका अनुसार चिसोले घरभित्र बस्न कठिन भएकाले मानिसहरु समूह बनाएर आगो ताप्ने गरेका छन्।

पछिल्ला तीन दिनयता घाम नलाग्दा बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरूलाई चिसोले बढी प्रभाव पारेको छ। चिसोका कारण बालबालिकाको पठनपाठनमा अवरोध भएको छ भने वृद्धवृद्धाको स्वास्थ्यसमेत कमजोर भएको स्थानीयले बताएका छन्।

चिसोका कारण जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको छ। अस्पताल प्रमुख डा. प्रशान्त शाहका अनुसार श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले सबै शय्या भरिएका छन्। आकस्मिक कक्षसमेत भरिभराउ भएकाले कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गरिनु परेको छ।

हिमाली क्षेत्र खुम्बुमा चिसोको असर झनै गहिरिएको छ। खुम्बु क्षेत्रमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेपछि विद्यालयहरू बन्द भएका छन्। शिक्षक ल्हाक्पा शेर्पाका अनुसार बालबालिका आगो तापेर समय बिताउन बाध्य भएका छन्।

चिसो बढेसँगै खुम्बु क्षेत्रका ७० प्रतिशतभन्दा बढी स्थानीय र व्यवसायी जाडो छल्न काठमाडौँ र भारतका तीर्थस्थलतर्फ गएका छन्। पर्यटकीय याममा व्यस्त हुने खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ। होटल, विमानस्थल र पर्यटकीय स्थलहरूमा पर्यटकको चहलपहल ठप्प भएको स्थानीयहरूले बताएका छन्।

चिसोका कारण पाइपमा पानी जम्दा पानी आपूर्तिमा समेत समस्या भएको छ। सगरमाथा क्षेत्रका धेरै गाउँहरूमा पिउने पानीको अभावले जनजीवन थप प्रभावित भएको छ।

धेरैजसो विकास निर्माणका काम रोकिएका छन् भने गाउँघर सुनसान भएका छन्। स्थानीयहरूका अनुसार धारा खुला राखेर मात्र पानी जम्नबाट बचाउने प्रयास गरिएको छ। चिसो यति धेरै भएको छ कि तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुगेको छ।

चिसोको कारण सोलुखुम्बु र खुम्बु क्षेत्रको जनजीवन मात्र होइन, पर्यटन र स्थानीय व्यवसाय पनि नराम्ररी प्रभावित भएका छन्। चिसो कम गर्न उचित उपाय नअपनाएसम्म यहाँका जनताको कष्टकर जीवनशैली यथावत् रहने देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित