काठमाडौं ।
गृहमन्त्रीको सचिवालयका एक अधिकारीले बताए अनुसार मन्त्री लेखक र एआईजी थापाले शेरादरबारसहित अन्य विषयहरुमा छलफल गरेका छन्।
त्यस क्रममा एआईजी थापाले ब्यूरोले लामो अनुसन्धानपछि शेरादरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
ब्यूरोले शुक्रबार मात्र जग्गा सरकारको नाममा ल्याउनको लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो।
पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको जग्गा नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीले भोग चलन गर्दै आएको थियो।
विकेश श्रेष्ठ कुनै बेला माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव थिए।
माओवादी शान्ति प्रक्रियामा आउनुअघिदेखि नै प्रचण्डको हेडक्वार्टरमा रहेका उनी माओवादी सत्तामा आएपछि पनि प्रचण्डकै टिममा रहे। उनी माओवादीका पूर्वकेन्द्रीय सदस्य समेत हुन्।
प्रहरीले यो मामलामा संलग्न कर्मचारी लगायतमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको छ।
जाँचका क्रममा कीर्ते देखिए ब्यूरोबाट समेत मुद्दा चलाउने भनिएको छ।