जुम्ला
संघीयताको कार्यान्वयनपछि जुम्लाको हिमा गाउँपालिका वडा नम्बर २ मा दलित सदस्यको कोटा खाली रहँदै आएको छ। दुई पटकको स्थानीय निर्वाचन हुँदा पनि यो पद खाली रहनुको मुख्य कारण वडामा दलित समुदायको बसोबास नहुनु हो।
वडा अध्यक्ष हरी रोकायाका अनुसार वडा नम्बर २ ओदीमा तीन वटा गाउँ—रिखिदेऊ, कोइरेली, र ओदी—पर्छन्। करिब पाँच हजार जनसंख्या रहेको यो वडामा दलित समुदायको उपस्थिति नहुँदा दलित सदस्य पद लामो समयदेखि खाली रहेको हो।
२०७४ र २०७९ सालका स्थानीय निर्वाचनहरूमा पनि दलित उम्मेदवार नभएका कारण यो पद खाली नै रह्यो। तर, आगामी २०८४ सालको निर्वाचनमा भने यो पद भरिने सम्भावना देखिएको छ। वडा अध्यक्ष रोकायाका अनुसार, हिमा गाउँपालिका वडा नम्बर १ का वड्की गाउँ र देवारगाउँबाट दुई जना दलित व्यक्तिहरू—बासमती कामी र जसे सार्की—बसाइँसराई गर्दै ओदीमा बसोबास गर्न आएका छन्। उनीहरूलाई वडामा जग्गा प्रदान गरिएको र उनीहरूमध्ये एकजना दलित सदस्यका लागि उम्मेदवार बन्ने तयारी भएको छ।
जुम्लाका ६० वडाहरू मध्ये हिमा गाउँपालिका वडा नम्बर २ मात्र यस्तो वडा हो जहाँ दलित सदस्यको प्रतिनिधित्व भएको छैन। यसले गर्दा वडाले राज्यबाट पाउने सेवा सुविधा पनि पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको वडा अध्यक्ष रोकायाले बताए।
हालसम्म यो वडामा रोकाया, बुढा, र थापा थरका क्षेत्री समुदायको मात्र बसोबास छ। अब दलित समुदायका व्यक्तिहरू बसाइँसराई गरेपछि यो वडामा दलितहरूको स्थायी बसोबास हुने र उनीहरूको प्रतिनिधित्व सुनिश्चित हुने अपेक्षा गरिएको छ।