दैलेखको भैरवी गाउँपालिकामा प्राकृतिक ग्यासको सम्भावना
दैलेखको भैरवी गाउँपालिकामा प्राकृतिक ग्यासको सम्भावना
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

काठमाडौं ।

दैलेख जिल्लाको भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा प्राकृतिक ग्यास रहेको सकारात्मक संकेत देखिएको छ। चीनको आर्थिक र प्राविधिक सहयोगमा गरिएको उत्खनन् कार्यका क्रममा यो सम्भावना देखिएको हो।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०७९ वैशाख २८ गतेदेखि जमिनको ड्रिलिङ सुरु गरेको थियो। यो उत्खननको मुख्य उद्देश्य पेट्रोलियम पदार्थको अवस्था पत्ता लगाउनु रहेको अधिकारीहरूले बताएका छन्।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् एवम् पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुईंटेलका अनुसार हालसम्म ३,९४८ मिटर गहिराइसम्म खनिएको छ। उपकरणहरूले ग्यास ‘डिटेक्ट’ गरेको र त्यहाँ ग्यास रहेको सकारात्मक संकेत देखिएको उनले बताए।

अहिलेको अनुसन्धानले जमिनमुनि ग्यास छ कि छैन भनेर पत्ता लगाउने कार्य भइरहेको छ। यससँगै उत्खनन गरिएको चट्टानका नमूनाहरू संकलन गरिएको छ, जसको परीक्षण बाँकी रहेको भूगर्भविद लुईंटेलले जानकारी दिए।

ड्रिलिङ सकिएपछि ग्यासको पुष्टि हुने र त्यसपछि व्यापारिक दृष्टिकोणबाट यसको उपयुक्तता परीक्षण गरिनेछ। दोस्रो चरणमा ग्यासको आयतन र गुणस्तर परीक्षण गर्ने परियोजनाले जनाएको छ।

दैलेखको भैरवी गाउँपालिकाका विभिन्न स्थानमा जमिनमुनिबाट निस्किने ग्यासमा आगो बल्ने घटनाले ती क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बनेका छन्। अखण्ड दीप बलिरहने शीरस्थान, नाभिस्थानजस्ता स्थानले पर्यटक आकर्षित गरिरहेका छन्।

गाउँपालिकाकी प्रमुख रिता कुमारी शाहीका अनुसार उत्खनन क्षेत्र पर्यटकहरूको चासोको केन्द्र बनेको छ। उत्खनन स्थलमा ग्यासको गन्ध आउने र तीन तहमा ग्यास रहेको संकेत देखिएको जानकारी उनले दिइन्।

उत्खननमा ३ दर्जनभन्दा बढी प्राविधिक र भूगर्भविद् सहभागी छन्। प्रारम्भिक चरणमा तेल पनि हुन सक्ने अनुमान गरिएको भए पनि हालसम्म प्राकृतिक ग्यास मात्र रहेको संकेत देखिएको छ।

सूचना अधिकारी लुईंटेलका अनुसार ५० मिटर गहिराइ मात्र खन्न बाँकी रहेको छ। ड्रिलिङ सकिएपछि विस्तृत अध्ययन रिपोर्ट सार्वजनिक गरिनेछ।

साताकाे चर्चित
सम्बन्धित