सभामुख घिमिरेद्वारा तमु ल्होसारको शुभकामना
सभामुख घिमिरेद्वारा तमु ल्होसारको शुभकामना
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले तमु ल्होसार २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन सहयोग पुर्‍याओस् भन्ने कामना गरेका छन्। स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना दिँदै उनले यो पर्वले साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभेच्छा प्रकट गरे।

सभामुख घिमिरेले जारी गरेको शुभकामना सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताले भरिएको देश भएको उल्लेख गरेका छन्। संविधानको मर्मअनुसार विभिन्न जातजातिका भाषा, संस्कृतिको संरक्षण, विकास र उन्नयनमा काम हुँदै आएको बताउँदै उनले भनेका छन्, “हाम्रा पर्वहरूले विविधतामा एकता कायम गर्न र सामाजिक सद्भावलाई सुदृढ बनाउन योगदान पुर्‍याएका छन्।”

तमु ल्होसार गुरुङ समुदायको प्रमुख पर्व हो, जसले नयाँ ल्हो (वर्ष) को आगमनलाई संकेत गर्दछ। गुरुङ समुदायले १२ वर्षलाई १२ वटा जनावरको नामबाट ल्हो चक्र निर्धारण गरेका छन्। यो पर्वले नयाँ ल्होको स्वागत गर्दै सांस्कृतिक परम्परा, एकता र पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको सभामुख घिमिरेले उल्लेख गरेका छन्।

सभामुख घिमिरेले तमु ल्होसारले आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुताको भावना विकास गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्। यो पर्वले सामाजिक एकता, भाइचाराको सन्देश र गुरुङ समुदायको सांस्कृतिक धरोहरको संरक्षण गर्ने विश्वास व्यक्त गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित