भोजपुर-सङ्खुवासभाको सतिघाटमा पक्की पुल अभावले नागरिकलाई समस्या
भोजपुर-सङ्खुवासभाको सतिघाटमा पक्की पुल अभावले नागरिकलाई समस्या
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

भोजपुर ।

भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयले बर्सौंदेखि समस्या झेल्दै आएका छन्। उत्तरी क्षेत्रबाट बाह्य जिल्लामा प्रवेश गर्ने मुख्य नाकाका रूपमा रहेको यो क्षेत्रमा वैकल्पिक रूपमा करिब छ वर्षअघि फेरी सञ्चालन गरिएको भए पनि फेरी प्राविधिक समस्याका कारण वर्षभरि सञ्चालन हुन नसक्दा नागरिकले कठिनाइ भोग्नुपरेको छ।

बर्खाको समयमा नदीको पानीको बहाव बढ्ने भएकाले फेरी पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था हुन्छ। यस्तो अवस्थामा स्थानीयले झोलुङ्गे पुल प्रयोग गरी आवतजावत गर्नुका साथै पिठ्यूमा सामान ओसार्न बाध्य छन्। हिउँदको समयमा मात्रै बिहान ७ बजेदेखि बेलुकी १० बजेसम्म फेरी सञ्चालन हुने गरेकाले यो पनि स्थायी समाधान हुन सकेको छैन।

अरुण नदीमा पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकले व्यापारिक र दैनन्दिन काममा समस्या झेलिरहेका छन्। सतिघाटमा पुल निर्माण भए यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने स्थानीयवासी नवीन कार्कीले बताए। “नदीमा पक्की पुल नहुँदा सिङ्गो उत्तरी क्षेत्रका नागरिक प्रभावित छन्। सडक कालोपत्रे भैरहे पनि नदीमा पुल नहुनु विकासको बाधक बनेको छ,” उनले भने।

षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले सतिघाटमा पक्की पुल निर्माणका लागि पहल भइरहेको बताए। उनका अनुसार, फेरीले तत्काल राहत दिएको भए पनि स्थायी समस्या समाधानका लागि पक्की पुल अपरिहार्य छ।

पक्की पुल निर्माणका लागि राज्यले चाँडो ध्यान दिनुपर्ने र यसले समग्र उत्तरी क्षेत्रको विकासलाई गति दिने स्थानीयको माग छ।

साताकाे चर्चित
सम्बन्धित