प्रधानमन्त्रीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता
प्रधानमन्त्रीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङले सम्झौतापत्र आदानप्रदान गरे।

समझदारीअनुसार दुवै विश्वविद्यालयले भाषा शिक्षण, संस्कृति आदानप्रदान र अनुसन्धान कार्यहरू सञ्चालन गर्नेछन्। साथै, बेइजिङमा नेपाल इन्स्टिच्युट र लुम्बिनीमा चाइना इन्स्टिच्युट स्थापना गरिनेछ। प्रधानमन्त्री ओलीको गत मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमणका क्रममा चिनियाँ स्वयंसेवी भाषा शिक्षणसम्बन्धी समझदारी भएको थियो।

प्रधानमन्त्री ओलीले, जो लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपतिसमेत हुन्, नेपाल र चीनबीच शताब्दीयौंदेखि रहेको जनस्तरको सम्बन्धलाई उल्लेख गर्दै दुई देशबीचको प्राज्ञिक र शैक्षिक सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरे।

समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, र नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूलगायतको उपस्थिति थियो।

साताकाे चर्चित
सम्बन्धित