ललितपुर ।
ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र खोलाबाट निस्कने गन्धका कारण स्थानीय बासिन्दा सास्ती खेपिरहेका छन्। असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीले करिडोर भत्काएपछि यो समस्या थप गहिरिएको हो।
स्थानीयवासीको भनाइ अनुसार बाढीले नख्खु खोला किनारामा थुप्रिएको धुलो बस्तीमा उडेर आएको छ, जसले गर्दा धुलो र दुर्गन्धले दिनप्रतिदिन जनजीवन प्रभावित भएको छ। ललितपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले गुनासो गर्दै भने, “दिउँसो हावा चल्दा धुलो र खोलाको दुर्गन्ध बस्तीभर फैलिन्छ। अहिले जाडोमा यस्तो समस्या छ, गर्मीमा त झन् विकराल हुने सम्भावना छ।”
यसैबीच, ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीले बाढीले पारेको असर समाधान गर्न प्रयास जारी रहेको बताए। उनले भने, “क्षतिग्रस्त क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल भइसकेको छ। तर, टिप्पर सञ्चालनका लागि उचित व्यवस्थापन हुन नसक्दा धुलोको समस्या झन् बढेको हो।”
नख्खु र भैँसेपाटी जोड्ने नख्खु खोला पुल र त्यस आसपासमा धुलोका कारण यात्रुहरूले निकै कठिनाइ भोग्नुपरेको छ। पुल हुँदै भैँसेपाटी पुग्ने मोटरसाइकल यात्री वीरेन्द्र तितुङले भने, “धुलो र खोलाको गन्धले हरेक दिन दिक्क बनाउँछ। मेरी छोरी यही पुल हुँदै स्कुल जान्छिन्। उनलाई पनि धुलो र दुर्गन्धले सताएको छ।”
त्यसैगरी, बाढी प्रभावित क्षेत्रका स्थानीय विश्वास थापाले राहत नपाएकोमा चिन्ता व्यक्त गरे। उनले भने, “चिसो बढ्दै छ, बाढीपीडितहरू निकै कठिनाइमा छन्। धुलो र दुर्गन्धले बस्तीलाई प्रभाव पारेको छ। गर्मीयाममा यो समस्या झन् भयावह हुने सम्भावना छ। तर, जिम्मेवार निकायले अझै ध्यान दिएको छैन।”
स्थानीय बासिन्दाहरूले समस्या समाधानका लागि महानगरपालिका र सरकारलाई चाँडो कदम चाल्न आग्रह गरेका छन्।