सभामुख देवराज घिमिरेद्वारा जिमी कार्टरको निधनप्रति शोक व्यक्त
सभामुख देवराज घिमिरेद्वारा जिमी कार्टरको निधनप्रति शोक व्यक्त
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

 काठमाडौं ।

सभामुख देवराज घिमिरेले संयुक्त राज्य अमेरिकाका ३९औं राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन्। सभामुख घिमिरेले एक शोक वक्तव्य जारी गर्दै कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्‍याएको योगदान सधैं प्रेरणादायी रहने बताएका छन्।

१०० वर्षको उमेरमा जिमी कार्टरको निधन भएको हो। नेपालमा शान्ति प्रक्रिया, मानव अधिकारको प्रवर्द्धन, र गरिबी निवारणका क्षेत्रमा उनको योगदानको स्मरण गर्दै सभामुखले भने, “कार्टरले नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरमार्फत सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।”

सभामुख घिमिरेले थप उल्लेख गरेका छन्, “द्वन्द्व समाधान, मानव अधिकारको प्रवर्द्धन, र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै कार्टरले नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अघि बढ्न प्रेरित गरेका छन्।”

नेपालको शान्ति प्रक्रियामा कार्टर सेन्टरको सक्रियता र जिमी कार्टरको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै सभामुख घिमिरेले उनको निधनलाई अन्तर्राष्ट्रिय स्तरमै अपूरणीय क्षति भएको बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित