कोच परम्पराको सम्मान: प्रचण्डले केराको पातमा राजवंशी भोजन ग्रहण गरे
कोच परम्पराको सम्मान: प्रचण्डले केराको पातमा राजवंशी भोजन ग्रहण गरे
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको गौरीगञ्जमा कोच संस्कृति अनुसार केराको पातमा मासुभात खाएका छन्। सोमबार आयोजित खबरदारी सभामा सहभागी हुन गएका प्रचण्डले स्थानीय माओवादी कार्यकर्ता तिलक राजवंशीको घरमा परम्परागत शैलीमा भोजन गरेका हुन्।

प्रचण्डसहित उनका टोलीलाई राजवंशी (कोच) समुदायको परम्परा अनुसार उसिना चामलको भात, पेलका साग, आलु गोभीको तरकारी, रैथाने माछा, लोकल हाँस, टमाटरको अचार, धनियाँको चटनी र पापड केराको पातमा परोसीएको थियो। परम्परा अनुसार केराको एउटा पातलाई सुल्टो र अर्को उल्टो बनाएर राख्ने चलनलाई अनुसरण गरिएको थियो।

राजवंशीले आफूले प्रचण्डलाई कोच समुदायको खाना खुवाउन पाउँदा निकै खुशी लागेको बताए। उनका अनुसार प्रचण्डले कोच जातिको हितका लागि आफू सधैं काम गर्दै आएको र कोच समुदायको घरमा भोजन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए।

प्रचण्डको टोलीमा उनकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल, गंगाका श्रीमान जीवन आचार्य, कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता ईन्द्रबहादुर आङ्बो, र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङलगायतका नेताहरू सहभागी थिए।

सात वर्षअघि झापाकै दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले चरेसको थालमा मार्सी चामलको भात खाएको चर्चित घटनापछि सोमबार प्रचण्डले प्रसाईं र ओलीको गृहजिल्ला झापामा कोच समुदायको परम्परागत भोजन गरेर फेरि चर्चामा आएका छन्।

साताकाे चर्चित
सम्बन्धित