सैनिक शासन लागू गर्ने निर्णयले विवादमा परेका योलमाथि महाअभियोग र पक्राउको कारबाही
सैनिक शासन लागू गर्ने निर्णयले विवादमा परेका योलमाथि महाअभियोग र पक्राउको कारबाही
    • बेल संचार

    • १६ पुष २०८१, मंगलवार

काठमाडौं ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो पटक हो।

युन सुक योलले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए। विपक्षी दलको व्यापक विरोधपछि उनले यो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए। यही घटनाका कारण संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका छन्।

यो विषय अहिले संवैधानिक अदालतमा विचाराधीन अवस्थामा छ। दक्षिण कोरियाको कानुनअनुसार, महाअभियोग लागेपछि राष्ट्रपति पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने अधिकार राख्छ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले यस प्रकरणमा राष्ट्रपति योललाई तीनपटक उपस्थित हुन निर्देशन दिएको थियो। तर, उनी बारम्बार अनुपस्थित रहेकाले अनुसन्धानमा बाधा पुगेको जनाइएको छ। त्यसैले सोमबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति मागिएको थियो।

संयुक्त जाँच मुख्यालयले मंगलबार बिहान निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ। कुनै पनि उच्च अधिकारीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्नुपरे सियोल पश्चिमी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने कानुनी प्रावधान रहेको छ।

साताकाे चर्चित
सम्बन्धित