बाढीपहिरो प्रभावितलाई डब्लुएफपीको नगद राहत, अस्थायी आवास निर्माण सुरु
बाढीपहिरो प्रभावितलाई डब्लुएफपीको नगद राहत, अस्थायी आवास निर्माण सुरु
    • बेल संचार

    • १६ पुष २०८१, मंगलवार

काभ्रेपलाञ्चोक ।

गत असोज दोस्रो सातामा भएको बाढीपहिरोबाट प्रभावित एक हजार दुई सय ३० परिवारलाई संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नगद राहत प्रदान गरेको छ। डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत राहत रकम पीडित परिवारको बैंक खातामा पठाइएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ।

गाउँपालिकामा बाढीपहिरोका कारण १२ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्ण रूपमा र आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो। डब्लुएफपीले नेपाल सरकारको राहत नीति अनुसार रु १५ हजार र रु २० हजार नगद पीडित परिवारलाई प्रदान गरेको हो।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सबै पीडितको बैंक खातामा राहत रकम जम्मा भइसकेको जानकारी दिएका छन्। यसअघि सीआरएस (क्याथोलिक राहत सेवा)मार्फत पनि एक सय आठ पीडित परिवारलाई राहत प्रदान गरिएको थियो।

चिसो बढ्दै गएकाले गाउँपालिकाले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ। वडा नं २ बाट थालिएको यो अभियानमा हालसम्म वडा नं ९ को नार्के क्षेत्रमा ५० अस्थायी आवास निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ।

बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारी, १६० खानेपानी आयोजना, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्र, एक पक्की पुल, र विभिन्न संरचनामा क्षति पुर्याएको छ। डम्फु पार्क, १० शय्याको अस्पताल, र औद्योगिक ग्राम पनि बाढीले बगाएको थियो।

गाउँपालिकाले कात्तिक ३० गते विशेष गाउँसभा आयोजना गरी चालु आर्थिक वर्षको बजेटबाट केही प्रतिशत कटौती गरेर विपद् व्यवस्थापनका लागि २६६ योजना संशोधन गरेको छ। विपद् कोषमा दुई करोड ८० लाख रुपैयाँको व्यवस्था गरिएको छ, जसले राहत वितरण, क्षतिको तथ्याङ्क सङ्कलन, र विपद् व्यवस्थापनमा खर्च गर्ने योजना बनाइएको छ।

साताकाे चर्चित
सम्बन्धित